
गोरखामा पहिलो पटक खुल्ला ठाडो भाका प्रतियोगिता हुने
गोरखामा पहिलो पटक खुल्ला ठाडो भाका प्रतियोगिता हुने भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर यही बैशाख ११ गतेबाट प्रतियोगिता गर्न लागिएको हो ।
जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आइतवार पत्रकार सम्मेलन गरी आयोजक ठाडो भाका संरक्षण तथा प्रवद्र्धन समिति गोरखाले जनाएको छ । संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको समिति अध्यक्ष पृथ्वी गुरुङले बताए ।
‘ठाडो भाका नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगिसक्यो,’ उनले भने, ‘यसकै संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगिता गर्न लागेका हौ ।’ ठाडो भाकाका अग्रज श्रष्टालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने लक्ष्य समेत रहेको उनले जानकारी दिए । ‘जिल्लामा ठाडो भाकाका धेरै अग्रज श्रष्टाहरु हुनुहुन्छ, प्रतिभा प्रष्फुटन गर्ने ठाउँ नपाएका युवापुस्ता पनि छन् । उहाँहरु सबैलाई सहभागी गराउने कोसिस गर्नेछौ,’ उनले भने ।
प्रतियोगितामा १५ टिमभन्दा बढीको सहभागीता रहने आयोजकको अपेक्षा छ । बिशेष गरी गोरखासँगै लम्जुङ, तनहूँ र कास्कीबाट सहभागी आउने समितिका सचिव हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ८० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् ।
त्यस्तै सान्त्वना हुनेले १० हजार नगद पुरस्कार पाउने छ । प्रतियोगिताकै अवसरमा ठाडो भाका गाउने अग्रज श्रष्टा र नयाँ पुस्ताबाट एक/एक जनालाई सम्मान गरिने श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १८ लाख लाग्ने आयोजकको अनुमान छ । सहभागीहरुलाई खान र वस्नको व्यवस्था आयोजकले गर्ने बताइएको छ ।
कार्यक्रममा बोल्दै वडाध्यक्षद्धय बिष्णु राना र राजेन्द्रकुमार जोशीले लोप हुदैँ गएको ठाडो भाका संरक्षण र प्रवद्र्धनका लागि एक्यवद्धता जनाउन आग्रह गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न आर्थिक लगायतका पक्षमा आफूहरुले समेत सहयोग गर्ने उनीहरुले प्रतिवद्धता जनाए ।




