
भानु जन्मस्थल चुँदी रम्घामा अन्तर्रा्ष्ट्रिय कवि सम्मेलन हुने
आदिकवि भानुभक्त आचार्यको जन्मगाउँ तनहूँको चुँदी रम्घामा अन्तर्रा्ष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत महिनाको २९ र ३० गते सम्मेलन हुने भएको हो । ‘पर्यटनका लागि साहित्य, साहित्यका लागि पर्यटन’ मूल नाराका साथ सम्मेलन हुने गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले बताए । नेपाली भाषा र साहित्यलाई अन्तर्रा्ष्ट्रियकरण गर्न सम्मेलन आयोजना गरेको उनको भनाइ छ । ‘भानुभक्तका सन्देश विश्वव्यापीकरण गर्ने उद्देश्यले सम्मेलनको तयारी गरेका हौँ,’ आकाशले भने ।
सम्मेलनमा भारत, म्यानमार, जापान, भुटान, बंगलादेश, चीन र नेपालका विभिन्न जिल्लाका गरी पाँच दर्जनभन्दा बढी साहित्यकारको जमघट रहने प्रतिष्ठानले जनाएको छ । सम्मेलन मा आएका साहित्यकारलाई २९ गते रानीगाउँ होमस्टेमा राखिनेछ । भोलिपल्ट उनीहरूलाई भानु जन्मघर शिखरकटेरीको पदयात्रा गराइनेछ । दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्रप्रताप साहित्यिक पुरस्कार, गीतल प्रभात युवा पुरस्कार तथा गीतल प्रतिभा पुरस्कारबाट विभिन्न व्यक्तिलाई पुरस्कृत गरिने नाटक मञ्च तनहुँका सचिव दिवाकर भट्टराईले बताए ।




