| आइतवार, अशोज १०, २०८३

हिमालय माविको असल अभ्यास

बारपाक घले गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर पर्यटकीय गाउँ हो । करिब एक हजार घरधुरीले सजिएको यो गाउँ दशकौं अघिदेखि चीरपरिचित थियो, प्रसिद्ध थियो । सम्पन्नताले भरिपूर्ण बारपाकको महिमा जो कोहीले मुक्तकण्ठले वर्णन गर्ने गर्दथे, अद्यपि गरिन्छ ।

जब यहाँका गजे घलेले दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पदक प्राप्त गरे, त्यसपछि बारपाकको गरिमा रुपी सुनमा सुगन्ध थपियो । बारपाकलाई गजे घलेको गाउँ भनेर अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ने भए । अन्तर्राष्ट्रिय मिडियाहरुले पनि बारपाकलाई महत्वपूर्ण स्थान दिने गरे ।

२०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दू बनेपछि यो गाउँले ठूलो जनधनको क्षति बेहोर्नुप¥यो । बारपाकको चर्चा पनि त्यसपछि चुलियो । बारपाकको प्रसिद्धिको दायरा अझै फराकिलो बन्यो । देश, विदेशले चिन्ने भए ।

अहिले बसाइँ सराई गरेर सहर वा विदेश जाने समस्याले बारपाक पनि अछुतो रहेको छैन । त्यसैले यहाँको हिमालय माविमा पनि विद्यार्थी संख्या न्यून बन्दै गएको अबस्था छ । यस समस्यालाई निराकरण गर्न अहिले यस विद्यालयले विद्यार्थीमैत्री कार्यक्रम सुरु गरेको छ ।

आफ्ना विद्यार्थीहरुलाई हरेक दिन स्वागत गर्ने असल अभ्यास आरम्भ गरेको छ । हरेक दिन चार जना शिक्षकहरु विद्यालयको प्रवेशद्वारमा उभिएर गुडमर्निङ, नमस्कार, स्योपो ख्याङ जस्ता अभिभावद गरेर स्वागत गर्ने गर्दछन् । यसले गर्दा विद्यार्थीहरुमा उल्लास उमंग थपेको छ ।

यो दृश्यले विद्यार्थीका अभिभावकहरुमा पनि उर्जा थप गरेको छ । विद्यालयप्रति हार्दिक भावना थप गरेको छ । विद्यार्थीमैत्री वातावरणले गर्दा सो विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थी संख्या पनि थप गरेको छ ।

शिक्षक, विद्यार्थी, अभिभावकको सद्भाव बढ्दै जाँदा विद्यालयको उन्नति, प्रगति पनि सुनिश्चित हुनेछ । त्यसैले यस्ता कार्यक्रम अन्य विद्यालयले पनि देखासिकी गर्दा उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्