| आइतवार, अशोज १०, २०८३

विद्यार्थी गाउँमै रोक

शीर्षकको आग्रह कर, बल, छल, अक्कर, परिबन्धमा पारेर होइन, गाउँमै बस्न योग्य वातावरण निर्माण गरेर भन्ने अर्थमा हो । गाउँबाट सदरमुकाम आएर पढ्ने क्रम नयाँ होइन । बसाइँ सराइ पनि गाउँबाट सहरतिरै हुनु अस्वभाविक भएन । तर बिगतभन्दा बर्सेनी यसरी झर्नेको दर असामान्य रुपमा बढ्दै जानुचाहिँ सुखद होइन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि शक्ति विकेन्द्रिकरण भयो । पालिका सरकारबाटै धेरै काम फत्ते हुने भए । यसपछि ग्रामीण भेगको विकास निर्माणको कामले पनि तिब्रता पायो । पहिले पहुँच पुग्नेको गाउँबस्तीमा विकासको ओइरो, पहुँच नपुग्नेको गाउँमा ठण्डाराम हुन्थ्यो । अहिले आवश्यकता र मागको आधारमा स्थानीय सरकारले नै धेरै विकासका काम गर्न सक्ने अबस्था छ । यसो हुँदा सोचेजस्तै नभए पनि, खोजेजस्तै नभए पनि विकास हुने क्रम बढेको पक्कै हो । तर दुखका साथ भन्नुपर्छ, विकास गाउँपस्यो, मान्छे सहर(विदेश) पसे । बसाइसराइ गर्नेलाई विकासले पनि तानेन । गाउँपालिकाहरुले शिक्षालाई गुणस्तरीय बनाउन अनेकन प्रयास नगरेको पनि होइन, लगानी नगरेको पनि होइन, तर अझै कहाँ कमी भइरहेको छ, कहाँ अभाव भइरहेको छ, गाउँलेलाई गाउँमा रोक्न सकेन । यसको अर्थ, गाउँले गाउँमै रोकिनु पर्छ भन्ने होइन । इच्छा, आकांक्षा र क्षमता छ भने देशको जुनसुकै ठाउँमा गएर बस्न पाउने नागरिक संविधान प्रदत्त हक, अधिकार सुनिश्चित छ । केही बर्ष अघि आफै पनि गाउँबाट सहरमा पसेकाहरुले पछिल्लो छिमलमा गाउँ छाड्नेतर्फ देखाउँदै गाउँ रित्तियो भनेको सुहाउँदैन । यद्यपि गाउँमा बस्न चाहनेहरु पनि बाध्यतामा परेर सहर जान नपरोस् भन्नका लागि गाउँमा रोजगारी सिर्जना गर्ने, गाउँका विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने, होस्टलसहितको विद्यालय शिक्षाको व्यवस्था गर्ने हो भने यो दर केही रोकिन्थ्यो कि ?

प्रतिक्रिया दिनुहोस्