पानीपुरी र चटपटेमा प्रयोग हुने मसला बिषालु ?
जब मानवीय संकट आइपर्छ, त्यसकै फाइदा उठाएर असुर आत्मा भएकाहरुले रातारात धनी बन्ने दाउ र अनेक प्रपञ्च अपनाउँछन् ।
मानव सभ्यता माथि नै संकट आउने प्रकारको कोभिडको महामारी फैलिरहेका बेला पनि दैनिक उपभोग्य बस्तुमा मनोमानी मूल्यवृद्धि गर्ने, विशेषगरी औषधी तथा स्वास्थ्य सामग्रीको कृत्रिम अभाव सिर्जना गरी लुट मच्चाउने दाउ हुनसक्छ ।
यस्तै सम्भावनाको खोजी गर्न जिल्ला प्रशासन कार्यालयले मंगलबार र बुधबार बजार अनुगमन ग¥यो । सो क्रममा बजारका विशेषगरी खाद्यान्न पसलमा अखाद्य बस्तु फेला पा¥यो । युवायुवती, किशोरकिशोरीका माझ लोकप्रिय रहेको पानीपुरी र चनाचटपटेमा राख्ने मसला तथा अम्लीय पदार्थ अखाद्य भेटियो । विभिन्न रसायन मिसावट भएको, म्याद गुज्रिएको २८ ग्यालिन अमिलो मसला बरामद गरी बुधबारै नष्ट पनि गरिएको छ ।
सघन अनुगमन गर्नुपर्छ, बजारमा यस्ता अखाद्य बस्तु अनेकन भेटिन्छन् । कतै म्याद नाघेका, कतै विषालु पदार्थ मिसावट भएका, कतै मूल्यवृद्धि भएका, कतै कृतिम अभाव सिर्जना गरिएका घटनाहरु भेटिन्छन् ।
यस्तो अनुगमनलाई प्रशासनले, नगरपालिकाले निरन्तर जारी राख्नुपर्छ अनि मात्र सिधासाधा उपभोक्ता ठगिन पाउँदैनन् । यदि बारम्बार यस्तो व्यवहार गरेको पाइए त्यस्ता बस्तु नष्ट मात्र होइन, विक्रेतालाई कानूनी दायरामा ल्याउनु पर्छ ।
अझै औषधी पसलहरुको पनि अनुगमन हुनु जरुरी छ । कतै कोभिडलाई बहाना बनाएर मूल्यवृद्धि पो गरिँदै छन् कि ? कतै औषधीको कृतिम अभाव पो गरिँदै छन् कि ?
संकटमा उपभोक्तलाई सहजता प्रदान गर्नु सरकारको कर्तव्य हो । कर्तव्य पालना गर्दै नागरिकलाई अभिभावकत्व प्रदान गर्नु स्थानीय प्रशासन, स्थानीय सरकारको दायित्व हो ।




