
आँबुखैरेनीमा निशुल्क दन्त शिविर, एक सय पाँच जनाले सेवा लिए
लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा एक दिने निशुल्क दन्त शिविर भएको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ स्थित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा एक सय पाँच जनाले सेवा लिएका छन् । शिविरबाट रेफर भएका ४० जना बिरामीलाई ओम बिराज डेन्टल केयरले निशुल्क औषधी उपचार गर्ने डेन्टलका संचालक राजन ढकालले बताए ।
वडा नम्बर १ का अध्यक्ष किसान थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लियो क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष अमृत पण्डित लगायतको उपस्थिती थियो ।
उक्त शिविरमा आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाले औषधी उपलब्ध गराएका थिए भने अन्य सहयोग ओमबिरामज डेन्टल केयर र लायन्सका अध्यक्ष शिब खनालले गरेका थिए । शिविरमा ओम बिराज डेण्टल केयरका डाक्टर ओसिन थापाको नेतृत्वको प्राविधिक टिमले जाँच गरेको थियो ।





