क्यान्टिलिभर पुल मर्मत यथासीघ्र होओस्
भूकम्पसंगै सर्दी भीर पहिरियो । पहिरोले भीरको बाटो पनि गण्डकीमा पु¥यायो । त्यसपछि चुम्चेत र छेकम्पारका बासिन्दा भीरमा डोरी टाँगेर त्यही डोरीमा झुण्डिएर आवतजावत गर्न थाले । यसबारेमा समाचार प्रकाशन, प्रशारण भएपछि बेलायती सहयोगी संस्था युकेएडको ध्यानाकर्षण भयो र क्यान्टिलिभर पुल निर्माणको पहल थाल्यो । एमक्यापले पनि साथ दियो । करिब चार करोड रुपियाँको लागतमा सो सर्दीभीरमा क्यान्टिलिभर पुल बन्यो । यसअघि सिर्दिबास र केरौंजाको सीमानामा यारुबगरमा पनि यस्तै क्यान्टिलिभर पुल बनेको थियो । नेपालमै पहिलो पटक प्रयोग गरिएको भीर खोपेर बनाइएको क्यान्टिलिभर पुलको दोस्रो प्रयोग सर्दीभीरमा गरियो । स्थानीयबासी सहज आवतजावत गर्न पाएपछि प्रफुल्ल भए । करिब दुईबर्षपछि अहिले सो पुलमा फेरि बज्रपात भएको छ । पहिरोले ठूलाठूला ढुंगा पुलमाथि झारेपछि पुलको बार भत्किएको छ । कोल्टिएको पनि छ । यात्रु हिड्न नमिल्ने गरी कोल्टिएको क्यान्टिलिभर पुलमा ढुंगा, मुढा राखेर खच्चडचालकले अलिअलि भरथेग गरेका छन् । यो बाटोमा साबिक चुम्तेत र छेकम्पार गाविसका करिब आठसय घरधुरीका बासिन्दा, मनास्लु पर्यटन पदमार्गमा आएका विदेशी पर्यटक आवत जावत गर्छन् । त्यस्तै ती दुई गाविसका बासिन्दाका लागि उपभोग्य सामग्री तथा निर्माण सामग्री ढुवानी गर्ने खच्चड पनि आवतजावत गर्छ । पुलबाट यदि कोही खसेमा सिधै बुढीगण्डकीनदीमा पर्छन् । त्यसैले पुल ज्यादै जोखिम भएको छ । पुल मर्मत गर्न निर्माण कम्पनीले स्थानीय जनशक्ति उत्पादन गरेको भए आफैआफैले पनि मर्मत गर्ने थिए, तर त्यो अबस्था पनि छैन । त्यसैले निर्माणकर्ता कम्पनीले छिटोभन्दा छिटो दक्ष जनशक्ति पठाएर पुलको मर्मत गर्नुपर्छ । यसका लागि जनप्रतिनिधि, स्थानीय सरकार, जिल्ला सरकार, प्रदेश तथा संघीय सरकारको ध्यान जानुपर्छ ।




