आश्वासन जस्तै बुङ्कोट सडक कालोपत्रे होओस्
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बुंकोट पुगेर आश्वासन दिए, ‘असारसम्म बुंकोट सडक कालोपत्रे हुन्छ ।’ दुई दशकदेखि धुले सडकमा यात्रा गरिरहेको बुंकोटबासीलाई यो आश्वासनले धेरै नै रोमाञ्चित बनायो ।
अब कालोपत्रे सडकमा यात्रा गर्न पाइनेछ, दुर्घटना कमी हुनेछ, धुलोमैलो हुनुपर्नेछैन, बर्खा लागेपछि हिलाम्य भएर यात्रा गर्न कठिन हुने अबस्थाको अब अन्त्य हुनेछ भन्ने आशाले त्यस भेगका बासिन्दालाई आल्हादित बनायो, जुन स्वभाविक पनि छ ।
मन्त्रीले बोलेका कुरा सम्भव भैदिए अतिउत्तम हुने थियो । तर मन्त्रीले बोलेका धेरै काम असफल भएका उदाहरण पनि हामी माझ छ । चुमनुब्रीको नाम्रुङदेखि सामा, साम्दो हुदै रुईलासम्मको करिब ३५ किलोमिटर सडक निर्माणको काम घोषणा भएर, डिपिआर तयार भएर पनि कार्य आरम्भ नभएको तीन बर्ष भयो ।
सबैभन्दा ठूलो खाँचो नै सडक रहेको सो क्षेत्रका बासिन्दालाई सो सडकको झुठो आश्वासनले मर्माहत बनाएको छ । त्यस क्षेत्रका बासिन्दाले आश्वासनमा टेकेर हिडेको तीनबर्ष भयो, अझै यो बर्ष पनि काम सुरु हुन सक्ने देखिएको छैन ।
गोरखा बजारदेखि नारेश्वरसम्मको सडकको बिचल्ली अबस्था कसैको आँखामा छिपेको छैन । गोरखा बजारदेखि कट्टेलडाँडासम्मको सडकको दुराबस्थाबारे प्राय सबैजना परिचित छन् । गोरखा बजारदेखि फिनामसम्मको सडकको दर्दनाक अबस्था बारे शव्दमा व्यक्त गर्नु अपर्याप्त हुन्छ ।
औपचारिक सभा, समारोहहरुमा आश्वासन धेरै सुनेर वाक्क भएका गोरखाबासीलाई बुंकोट सडक कालोपत्रे हुने आश्वासन पनि नयाँ त होइन, तैपनि सबै कुरालाई नकारात्मक पक्षबाट टिप्पणी गर्नुभन्दा आश्वासनमा झै यथासीघ्र कालोपत्रे बनोस् ।




