
प्रशासकीय भवन बनाउनु नसक्नु कमजोरी कसको ?
‘खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ? आफु मिटाई अरूलाई दिनु जहाँ छ’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कविता धेरै चर्चित छ । आफू जलेर पनि अरुलाई उज्यालो दिने भनेर मैनबत्तीलाई प्रसंसा गरिन्छ । आफूलाई मेटाएर पनि बच्च हुर्काउने भनेर माकुरालाई प्रसंसा गरिन्छ । आफू नांगिएर पनि नयाँ पुस्ता(पुतली) जन्माउने भनेर लार्भा(झुसिलकिरा)को प्रसंसा गरिन्छ ।
आफ्नो पर्वाह नगरी अरुको सेवा गर्नेहरु सबै पुजिन्छन् । यहाँ प्रसंग गोरखाका केही त्यस्ता पालिकाहरुको हो, जसको आफ्नो प्रशासकीय भवन छैन, भाडाका घरमा बसेर वा अस्थायी संरचनामा बसेर पनि पालिका सुधार्ने काम गरिरहेका छन् ।
पालिकाको संरचना बनेको सात बर्ष बित्यो । तर अहिलेसम्म पनि गोरखाका छ वटा पालिकाले आफ्नो स्थायी संरचना बनाउन सकेका छैनन् । सिरानचोक र गण्डकी दुईवटा पालिकाको त केन्द्र कहाँ हो भन्ने पनि अझै किटान भएको छैन । चुमनुब्री र धार्चे दुई गाउँपालिकाहरु भाडाका घरमा सकसपूर्ण रुपमा सञ्चालित छन् । चुमनुब्रीको भवन बनाउने सुरसार पनि छैन, धार्चेको सुरु गरे पनि अघि बढ्न सकेको छैन । आरुघाट गाउँपालिका साविक आरुचनौट गाविसको कार्यालयको साँगुरो संरचनाबाट सेवा दिइरहेको छ । अजीरकोट सहिदलखन र भीमसेन गाउँपालिकाको भवन निर्माणको अन्तिम अन्तिम चरणमा पुगेका छन् । अजीरकोटले अस्थायी संरचनाबाट सेवा दिइरहेको छ ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका र बारपाक सुलीकोट गाउँपालिकाले भने आफ्नै पक्की संरचनाबाट सेवा दिएका छन् । आफ्नै भवन बनाउन नसक्नुमा यथासमयमा बजेट निकासा दिन नसक्ने नेपाल सरकारको पनि दोष छ, केही प्रतिशत दोष पालिका स्वयंको पनि छ । अहिलेसम्म विवाद मात्र गरेर केन्द्र कहाँ राख्ने भन्ने निश्कर्ष निकाल्न नसक्नु पालिका स्वयंको दोष हो ।




