
बैदेशिक रोजगारीको ठगीबाट बचौँ
रोजगारको अवसर खोज्दै नेपालीहरु बिदेशीने क्रमले पछिल्लो समय झन् तिव्रता पाएको देखिन्छ । उच्च शिक्षा हासिल गर्नका लागी बिदेश अहिलेका युवापुस्ताको पहिलो रोजाइ बन्न थालिसक्यो । बिदेशीने युवाहरुको जमातले देशमा युवापुस्ताको खडेरी नै लागिसक्यो । अहिले युवापुस्तामा बिदेश मोह यसरी पलाएको छ की बिदेश लगिदिन्छु भन्ने जो कोहीलाई पनि उनीहरुले सहजै बिश्वास गर्न थाले । बैदेशिक रोजगारको नाममा ठगिएर पीडित भएका जिल्लाका केही घटनाले यसको पुष्टी गर्छ ।
बिदेशमा राम्रो काम लगाइदिन्छु भन्दै रकम ठगी गर्ने गिरोह अहिलेको परिवेशमा निकै संक्रिय छन् । मासिक तलव एक लाखभन्दा बढी हुने प्रलोभन देखाउँदै उनीहरुले बिभिन्न व्यक्तिसँग लाखौको रकम ठग्ने गरेका छन् । यस्ता घटनामा जिल्लाकै केही व्यक्तिहरु स्वयम पीडित बनेका छन् । बैदेशिक रोजगारमा जानु अघि धेरै कुरामा बिचार पु¥याउनुपर्छ । यसलाई सहज र हलुका रुपमा कहिलै लिनुहुदैन ।
कुन कम्पनीबाट जाने हो, आधिकारिक कम्पनी हो वा होइन, पठाइदिन्छु भन्ने व्यक्तिको विस्तृत विवरण र गहिरो अध्ययन विना उनीहरुले देखाएको प्रलोभनमा पर्नु हुदैन । हुन त देशको राजनीतिक अस्थिरता, रोजगारीका अवसरको अभाव, पहुँचवाला र पैसावालाको बोलवाला, आर्थिक संकट जस्ता कारणले बिदेश मोह बढ्दै गएको हो भन्दा फरक नपर्ला । देशमै रोजगारको अवसर हुने र देश ‘सिस्टम’ मा चल्ने हो भने बिदेशीने बाध्यात्मक परिस्थिती सिर्जना पक्कै नहोला । तर यसो भन्दैमा देशमा अवसरका ढोकाहरु बन्द भए भन्ने चाहि होइन । अवसरहरु छन् । यसको उपभोग गर्न मात्र बढी महत्वकांक्षा नभई धैयर्ता आवश्यक छ ।
बैदेशिक रोजगारको सपनामा घरखेत डुवाएर बसेकाहरु पनि छन् । लाखौ रकम फसाएर बसेका पनि छन् । उनीहरुको पीडा निकै पीडादायी छ । तर यसको जिम्मेवारी उनीहरु स्वयम हुन् । कसैले मनाग्य तलव हुने गरी बिदेश पठाइदिन्छु भनेकै भरमा बिश्वास गरेर पैसा दिनु गलत हो । सबै कुरा सोच बिचार गरेर सम्बन्धित निकायमा राम्रोसँग सोधबुझ गरेर मात्र अघि बढ्दा यस्ता घटनाबाट पीडित हुनबाट बच्न सकिन्छ । बैदेशिक रोजगारीको नाममा हुने ठगीबाट बच्न स्वयम आफू सचेत हुनु अति आवश्यक छ ।




