
चीनले नेपाललाई १५ अर्ब रुपैयाँ आर्थिक सहायता दिने
नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायतामार्फत नेपाललाई करिब १५ अर्ब रुपैयाँ सहायता गर्ने गरी नयाँ सम्झौतामा हस्ताक्षर भएको छ । आज (२९ कात्तिक) आर्थिक तथा प्राविधिक सहयोगअन्तर्गत ८० करोड चिनियाँ युयान (करिब १५ अर्ब रुपैयाँ) सहायता नेपाललाई उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बेइजिङमा भएको सम्झौताअनुसार उक्त रकम दुई देशबीच सहमत भएका योजनामा खर्च गरिनेछ । आज बेइजिङमा भएको सम्झौतामा नेपालको तर्फबाट राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको तर्फबाट चिनियाँ इन्टरनेशनल डेम्भलपमेन्ट कर्पोरेशन एशोसिएशसनका अध्यक्ष लओ चाओहुईले हस्ताक्षर गरेका हुन् ।
आज भएको आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौताले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने राजदूत श्रेष्ठले बताए ।
चीनले गत साउनमा नेपाललाई १५ अर्ब रुपैयाँ बराबरको सहायता उपलव्ध गराउने घोषणा गरेको थियो । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा निस्कनु ठीक अघि चीनले सहायता रकम घोषण गरेको हो । सोही घोषणा अनुसारको आर्थिक सहायतामामा आज सम्झौता भएको हो ।




