| बिहिबार, मंसिर १०, २०८३

श्रीलंकाको आर्थिक संकटमा चीन समर्थित आर्थिक परियोजनाका भूमिका

विमान बिनाको विमानस्थल, ग्राहक बिनाको घुम्ने लक्जरी रेस्टुरेन्ट, अर्कैको अधिनमा भइसकेको बन्दरगाह र ऋणमा डुबेको पोर्ट सिटी हाल श्रीलंकाको वास्तविकता बनेको छ । सरकारले बिनसित्तिमा फाल्टु खर्च गरेको आरोप लागेका यस्ता ठुल्ठुला संरचना अहिले खालि स्मारकमा परिणत भएका छन् । यसरी श्रीलंकाको आर्थिक समस्यालाई चिनियाँ अनुदानबाट चलेका परियोजनाहरूले झन चरम बिन्दुमा पुर्याइदिएको देखिन्छ । 

बजेटको कमी र व्यापारिक घाटाको भर्पाइ गर्न भन्दै श्रीलंकाले वर्षाैँदेखि अत्यधिक धेरै बाहिरी ऋण लिँदै आएको थियो । त्यसमाथि विवादित संरचनाहरूमा एकदम ठूलो स्तरको लगानी गर्नु यतिबेला देशका लागि भयावह साबित भइरहेको छ । विशेषगरी राजापाक्षे परिवारले आफ्नो गृह जिल्ला हम्बनटोटामा आर्थिक सुधार ल्याउन चीनसँग अरबौँ ऋण लिएर बनाएका त्यस्ता धेरै परियोजना हाल अलपत्र अवस्थामा छन् । ती मध्ये केही निर्माणकार्य एसियाली क्षेत्रकै ठूलो लगानीमा बनिएका संरचना हुन् । 

राजापाक्षे सरकारको अनायासको परियोजनामध्ये सबैभन्दा समस्याजनक चाहिँ समुद्री तटमा निर्माण गरिइएको नयाँ बन्दरगाहलाई मानिन्छ । हम्बन्टोटाका लामो समयदेखिका बासिन्दा डिनुका भन्छन्, “यसबारे पहिलोपटक घोषणा हुँदा हामी सबै बासिन्दा अत्यन्तै उत्साहित र आशावादी थियौँ । अब यो जिल्लामा सुधार आउला भनेर सबै खुसी भएका थिए । तर अहिले यसको कुनै अर्थ छैन । न हामीले पोर्ट पायाैँ न कुनै सुधार । बरु दैनिकी टार्न झन संघर्षरत् अवस्थामा पुगेका छौँ ।”

हम्बन्टोटा पोर्टले चीनबाट लिएको १.४ अर्ब डलरको ऋण तिर्न सकेन । उल्टै यसले ६ वर्षमा ३० करोड डलर गुमायो । यसपछि २०१७ मा चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीले उक्त समुद्री पोर्टको ९९ वर्षको लिज प्राप्त गर्यो । यसले चीनको प्रभावबारे सो क्षेत्रभर गम्भीर चिन्ता निम्त्यायो ।

यसबाहेक अर्को १ करोड ५५ लाख डलरको चिनियाँ सहयोगको कन्फरेन्स सेन्टर पनि श्रीलंकाका लागि दशा समान साबित भयो । यो सेन्टर खुलेदेखि अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । यसका लागि पनि चिनियाँ लगानीकै पूर्ण सहायता लिइएको थियो । 

त्यसैको नजिक रहेको छ अर्को राजापाक्षे विमानस्थल, जसलाई चीनसँग २० करोड डलर ऋण लिएर निर्माण गरिएको थियो । तर यो संरचना पनि यति कम प्रयोगमा आयो कि यसले आफ्नो आम्दानीबाट बिजुलीको बिल समेत तिर्न सकेन । 

उता राजधानी कोलम्बोमा ६६५ एकडको टापुमा दुबईलाई चुनौती दिने दाबी गरिएको नयाँ आर्थिक केन्द्रको निर्माण पनि चिनियाँ ऋणबाटै सञ्चालन गरियो । आलोचकहरूले पहिले नै यसलाई गुपचुप ऋणको जालोमा पार्ने रणनीति भनेर व्याख्या गरिरहेका थिए । तर यति भन्दाभन्दै पनि परियोजना अघि बढाइराखिएको छ । 

यसरी श्रीलंका सरकारको कुल ऋण ५१ अर्ब डलरको दश प्रतिशत चीन एक्लैलाई तिर्नुपर्नेछ । र, विज्ञहरूका अनुसार चीनको सरकारी स्वामित्वमा रहेका फर्महरूसँगको कर्जा जोड्ने हो भने यो तथ्यांक अझै उच्च हुनेछ । 

श्रीलंकाले लामो समयदेखि नै आफ्नो बजेटले धान्न नसक्ने किसिमले ऋण लिइरहेको थियो जसमा व्यापारिक घाटा कम हुने कुनै संकेत देखिएको थिएन । त्यसैले पनि यसलाई बेलायतबाट स्वतन्त्र भएदेखिकै ठूलो आर्थिक संकट भनिएको छ र त्यहाँका २ करोड २० लाख जनसङ्ख्या अहिले बिना बिजुली, खाद्यान्न र इन्धन अभावमा बाँच्न बाध्य भइरहेका छन् । 

गम्भीर बन्दै गएको देशको अवस्था पश्चात् सरकारको राजीनामा माग गर्दै हप्तौँ जारी शान्तिपूर्ण आन्दोलनले सोमबार हिंसात्मक रूप लिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २२५ बढी घाइते भएको बताइएको छ । यसै घटनापछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका हुन् । 

बजेट घाटाको भर्पाइ गर्न र आयातको खर्च उठाउन श्रीलंका बाहिरी ऋणमै निर्भर रहनु पनि समस्याको मुख्य श्रोत बन्यो । केवल यसले मात्र त्यहाँको अर्थतन्त्रलाई टिकाइराखेको थियो । त्यस्तै दुईवर्ष जारी कोभिड महामारीले देशको एक मात्र निश्चित आम्दानी, पर्यटन व्यवसायलाई पनि ठप्प पारिदियो भने रेमिट्यान्समा कमी आउँदा बाहिरी आयातमा निर्भर देशलाई दैनिक उपभोग्य वस्तुहरू जुटाउनै कठिन भयो । यहाँसम्म कि गत महिना कागज र मसी आयात गर्न नसक्दा कक्षा ८ र ९ को परीक्षा समेत रद्द गरियो ।

बढ्दो ऋणको भार र घट्दो क्रेडिट रेटिङले अहिले श्रीलंकालाई अन्तर्राष्ट्रिय बजारमा थप नयाँ ऋणको चापमा पारेको छ । 

यसअघि सरकारले चीनसँग ऋण भुक्तानमा केही सहुलियत दिनेबारे छलफल गरेको थियो । यसको समाधानमा बेइजिङले उल्टै थप ऋण दिलाउने प्रस्ताव गर्यो ।

तर अन्तर्राष्ट्रिय मुद्रा कोषसँग श्रीलंकाको सहयोग अपीलपछि भने चीनले सो प्रस्ताव पनि खारेज गरिदिएको छ । चिनियाँ राजदूतले यसबारे भनेका छन्, “चीनले श्रीलंकाको अवस्थामा सुधार ल्याउन मद्दत गर्ने कोसिस गरिरहेको थियो । तर दुःखवश उनीहरू आईएमएफकहाँ गए र ऋण नचुकाउने फैसला सुनाए ।”

अधिकांश श्रीलंकाली नागरिकहरूका लागि ठूलो स्तरमा प्रयोगविहीन संरचनाहरू राजापाक्षे सरकारको अव्यवस्थिति शासन प्रणालीको चिन्ह बनेको छ ।

कोलम्बोका एउटा सानो स्टेसनरी स्टोरका मालिक भन्छन्, “हाम्रो ऋण घाँटीसम्म आइपुगेको छ अब के गर्ने ?”

उनको व्यवसाय चिनियाँ ऋणबाट निर्मित लोटस टावरकै छेउमा छ । सो टावरको रङ्गीन बाहिरी सिसाले राजधानीको स्वरूप नै बदलिदिएको छ तर भित्रको घुम्ने रेस्टुरेन्ट अझैसम्म सर्वसाधारणका लागि खुलाइएको छैन ।

उनी भन्छन्, “हामीले अब खानलाई पनि भिख माग्नुपर्यो भने यो टावर बनाएकाप्रति गर्व गरेर के गर्नु ?”

साउथ चाइना मर्निङ पाेस्टबाट ।

प्रतिक्रिया दिनुहोस्