
हिमाली भूगोलको जोखिमप्रति राज्यको विशेष दायित्व
हिमाली भूगोल बाहिरी आँखाले जति सुन्दर, शान्त र मनमोहक देखिन्छ, त्यहाँ दैनिक जीवनयापन र शिक्षा आर्जन गर्नु उति नै कष्टकर, जोखिमपूर्ण र चुनौतीपूर्ण छ । पर्यटक र अवलोकनकर्ताका लागि हिमाल र उच्च पहाड स्वर्गको टुक्राजस्ता लाग्न सक्छन्, तर त्यही माटोमा जन्मिएर हुर्किरहेका बालबालिका तथा नागरिकका लागि प्रत्येक ऋतु र प्रत्येक यात्रा परीक्षा बन्ने गरेको छ ।
गोरखाको चुमनुब्री गाउँपालिकाका विद्यालय तथा गुम्बाका बालबालिकाले जाडो छल्न र पढाइ निरन्तर राख्न बेहोरेको सास्तीले हिमाली भेगको यही कठोर यथार्थलाई उजागर गरेको छ । जाडोयाममा अत्यधिक चिसो र हिमपातका कारण हिमाली भेगका विद्यालय लामो समय बन्द रहने स्थिति नयाँ होइन ।
तर, बालबालिकाको पढाइ नबिग्रियोस् भनेर समुदाय र विद्यालय आफैँले विकल्प खोज्नु सराहनीय प्रयास हो । चुमनुब्री गाउँपालिका–२ स्थित ल्हो माविले हिउँदका चार महिना (मंसिरदेखि फागुनसम्म) आरुघाट गाउँपालिका–४ को कोखेटारस्थित आफ्नै भवनमा पठनपाठन सञ्चालन गर्दै आएको छ भने चुमनुब्री–७ को चुमगुम्बाले पनि लामा विद्यार्थीहरूलाई चार महिना फर्पिङस्थित सम्बद्ध गुम्बामा पढाउने व्यवस्था मिलाएको छ ।
शिक्षाप्रतिको यो लगाव र वैकल्पिक व्यवस्थापन प्रशंसनीय छ । चुमगुम्बाका चार वर्षसम्मका साना बालबालिकासमेत जाडोको पढाइका लागि फर्पिङ झर्ने क्रममा बेहोरेको पीडाले राज्यको पूर्वाधार तथा विपद् व्यवस्थापनको कमजोरी देखाएको छ । उङ्गिलुङ हिउँ पहिरोका कारण बिग्रिएको बाटो, स्यार खोलाको बाढीले सर्दीभीरको क्यान्टिलिभर पुल बगाएपछि सिर्जित अवरोध, छिचोल्दै, पहिरोको जोखिमपूर्ण यात्रा र अस्थायी फड्के तर्नुपर्ने बाध्यता सामान्य कुरा होइनन् ।
कलिला बालबालिका र अभिभावकले ज्यान हत्केलामा राखेर गर्नुपर्ने यस्तो यात्राले हिमाली नागरिकको बाँच्न र पढ्न पाउने अधिकार कति असुरक्षित छ भन्ने प्रश्न खडा गरेको छ ।
भौगोलिक विकटता, मौसमी चरम अवस्था, बारम्बार आउने पहिरो र बाढी, तथा सीमित यातायात सञ्जालका कारण त्यहाँको जीवनशैली अरू क्षेत्रभन्दा भिन्न छ । तसर्थ, राज्यले हिमाली भेगमा बसोबास गर्ने नागरिकको जीवनयापन सहज बनाउन विशेष र लक्षित कार्यक्रम लागू गर्नु अपरिहार्य भइसकेको छ ।




