
अहिले नै तटबन्ध नगरे आर्खेत बजार रहँदैन
बूढीगण्डकीको कटानले आरुघाट गाउँपालिका वडा नं. ४ स्थित आर्खेत बजार जोखिममा रहेको छ । उत्तरी गोरखाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दाले खाद्यान्नलगायत अत्यावश्यक सामग्री किनमेल गर्ने बजारका रुपमा रहेको आर्खेत बजार बूढीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेको हो ।
करिब दुईसय घरधुरी रहेको आर्खेत बजार गत असोज २५ गतेको बाढीले जोखिममा पारेको थियो । सो बाढीले बूढीगण्डकीको धार परिवर्तन गरी आर्खेततर्फ सोझिएको थियो । त्यसयता बूढीगण्डकीको बाढीले बजार यति रेटिसकेको छ कि, वडा कार्यालयको आँगनको डिल पनि खसाल्न थालेको छ । बाढी आउँदा मात्रै होइन, अहिलेसम्म पनि कटान गरिरहेको छ । यसरी नै निरन्तर कटान गरिरहे हिउँदकै दिनमा पनि खोलाले बजार बगाउँछ ।
त्यसैले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले जतिसक्दो छिटो बजार संरक्षणका लागि पहल गर्नुपर्छ । अन्यथा ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने अवस्था निम्तिन सक्छ । समस्या आइनपर्दै रोकथाम गर्नुभन्दा विपद्का घटना भइसकेपछि लोकरिझ्याइँका लागि खट्ने हाम्रो पुरानै प्रवृत्ति हो ।
बाढीले कटान गरेर बजार जोखिम भएपछि गृहमन्त्री सुदन गुरुङ, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री नन्दप्रसाद न्यौपानेले पनि अनुगमन गरेर फर्केका छन् । यसबाट स्थानीयबासी पक्कै पनि बजार संरक्षणको काम छिट्टै सुरु होला भन्ने पर्खाइमा छन् ।
बजार संरक्षणका लागि तटबन्धको कार्यक्रम तत्काल लागु गर्नुपर्ने हुन्छ । बजारको सतह बाढीको कटानले निरन्तर भासिइरहेको छ । अहिले नै तटबन्ध गरेर संरक्षण गर्न सुरु गर्नुपर्छ, नत्र, बजार रहँदैन । पालिकासंग ठूलो बजेट त हुँदैन, तैपनि नदीको धार पारिवर्तन गर्न एक्साभेटर लगाउन थालेको छ ।
अल्पकालीन समाधानका लागि पालिकाले खोलाको धार फेरि पनि उतै फर्काउन सुरु गरेको छ । अब संघ तथा प्रदेश सरकारले पनि केही दिनभित्रै बजार संरक्षणको कार्यक्रम सुरु गरोेस् ।




