| बुधबार, मंसिर ९, २०८३

बुढीगण्डकी बाढीप्रभावित आरुघाट गाउँपालिकाको क्षेत्रमा राहत सामग्री वितरण

बुढीगण्डकी बाढीप्रभावित आरुघाट गाउँपालिकाको क्षेत्रमा राहतका सामग्री वितरण भएको छ । घ्याम्पेशालका स्थानीय मनोज गुरुङको समन्वयमा डा. रविन पौडेलले वुधवार आरुघाट आधारभूत अस्पताल र विद्यालयलाई लक्षित गरी राहत सामग्री वितरण गरेका हुन् । पोखरा स्थायी घर भएका पौडेल हाल अमेरिका बस्दै आएका छन् ।

अस्पताललाई लक्षित गरी पाँच थान बेड र म्याट्रेस, दश थान स्टेचर, सुगर र प्रेसर नाप्ने मेसिन, फस्ट एडका सामानसँगै आवश्यक औषधी वितरण गरिएको गुरुङले बताए । त्यस्तै आरुघाटस्थित भिमोदय माध्यमिक बिद्यालयका बिद्यार्थीलाई लक्षित गरी सय थान झोला, एक सय दर्जन पेन र पेन्सिल, एक सय थान लाइट, सय थान कपी, डेढ सय थानका दरले हाइनेक र टोपि, ३ सय ५० थान दात माझ्ने ब्रस, सावुन लगायतका सामग्री वितरण गरिएको उनले जानकारी दिए । गुरुङका अनुसार विद्यालयमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी सेनेटरी प्याड समेत वितरण भएको छ ।

शान्तिबजारका बाढीपीडितलाई ब्ल्याङ्केट समेत वितरण गरिएको छ । ‘कुल ७० थान ब्ल्याङ्केट ल्याएका थियौ, केही शान्तिबजारका पीडितलाई दियौ, बाँकी पालिकालाई हस्तान्तरण गरेका छौ,’ गुरुङले भने । आवश्यकताको आधारमा पालिकाले उक्त ब्ल्याङ्केट बाढीपीडितहरुलाई वितरण गर्ने बताइएको छ । राहत वितरणका लागि आरुघाट पुगेका डा. पौडेलले आगामी दिनमा थप राहतका सामाग्री वितरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्