| बुधबार, मंसिर ९, २०८३

गोरखा बुंकोटका प्रकाश थापा अमेरिकामा सम्मानित

गोरखा बुंकोटका प्रकाश थापा अमेरिकामा सम्मानित भएका छन् । लामो समयदेखि समाजमा शान्ति स्थापनामा स्वयंसेवकका रुपमा क्रियाशील थापालाई न्यूयोर्क राज्यका एसेम्ब्ली डिस्ट्रिक्ट ३० का सदस्य स्टेभन रागाले सामाजिक अभियन्ता तथा सांस्कृतिक दूतका रुपमा सम्मान गरेका हुन् । सांसद स्टेभन रागाले थापालाई सोसियल एक्टिभिस्ट एण्ड कल्चरल एम्बेस्डरको प्रमाण प्रदान गरेका थिए ।

युवा सशक्तिकरण तथा नेतृत्व विकासका विषयमा दुई बर्ष अमेरिकामा प्रशिक्षण लिएर नेपालमा दशकौंदेखि युवा अभियानका क्षेत्रमा काम गरेका थापा समाजशास्त्रीय अध्ययन, अनुसन्धान तथा शैक्षिक गतिविधिमा समेत संलग्न छन् । युवा सशक्तीकरण, नेतृत्व विकास, सामाजिक जागरण, सकारात्मक सोचको प्रवद्र्धन तथा सामुदायिक अभियानमा उनी निरन्तर क्रियाशील रहँदै आएका छन् ।

लामो समयदेखि नेपाली कला, साहित्य, सञ्चार, अनुसन्धान तथा सामाजिक अभियानमा सक्रिय थापा बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन् । उनले नेपाल टेलिभिजन तथा न्यूज ट्वाण्टीफोर टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्दै नेपाली सञ्चार क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा गीतकारका रूपमा समेत उनको योगदान रहेको छ ।

सञ्चार, साहित्य तथा सामाजिक विषयवस्तुमा लेखन र अभिव्यक्तिमार्फत पनि उनी सक्रिय रहँदै आएका छन् । हाल थापा युनिभर्सल पिस फेडेरेशन(युपिएफ इन्टरनेशनल) अन्तर्गत दक्षिण एसिया क्षेत्रीय निर्देशकका रूपमा कार्यरत छन् । यस जिम्मेवारीमार्फत उनले दक्षिण एसियाली क्षेत्रमा युवा नेतृत्व विकास, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्वशान्तिको प्रवद्र्धनका लागि विभिन्न गतिविधि, कार्यक्रम र अभियानको नेतृत्व तथा समन्वय गर्दै आएका छन् ।

यस सम्मानलाई नेपाली कला, संस्कृति, सञ्चार, साहित्य, अनुसन्धान तथा सामाजिक अभियानमा सक्रिय व्यक्तित्वको योगदानको अन्तर्राष्ट्रिय पहिचानका रूपमा समेत हेरिएको छ । साथै, यसले नेपाली समुदायको सामाजिक तथा सांस्कृतिक योगदानलाई अमेरिकी समुदाय र नेतृत्वसमक्ष थप परिचित गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्