| बुधबार, मंसिर ९, २०८३

दृष्टिबिहिन नागरिकको खाता खोल्न मान्दैनन् बैंक

मेलिना बराम ।
आँखा देख्दैनन् तर, ब्रेलमा घोटिँदा घोटिँदै, रटिँदा रटिँदै खर्रर लेख्न सक्छन दृष्टिविहिनहरु । नाम पनि लेख्न सक्छन्, हस्ताक्षर पनि गर्न सक्छन् । तर अहँ, बैंकले उनीहरुको पढ्ने, लेख्ने क्षमताको विश्वासै गर्दैन । काउन्टरमा पुगेपछि उनीहरूको हस्ताक्षरले मान्यता पाउँदैन । अनि औँला तान्छन् र स्ट्याम्प प्याडमा औंला ठोसाउँछन्, कागजमा धसाउँछन् ।
त्यतिबेला असाध्यै हेपिएको महसुस गर्छन् दृष्टिविहिनहरु ।

एउटा व्यक्तिको मात्र गुनासो होइन यो । देशभरका दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरूले वर्षौंदेखि भोग्दै आएको विभेद हो । गोरखा नगरपालिका–५ की एक दृष्टिविहीन महिलाले आफूलाई बैंकले खाता नै खोल्न नदिएको गुनासो गरिन् । बाख्रापालनका लागि नेपाल अपांग महिला संघ गोरखाले उनलाई २० हजार रुपैयाँ सीड मनी (बिउ पुँजी) दिनुपर्ने थियो । संस्थाको अनुदान भएकाले व्यक्तिको खातामा नै रकम जम्मा गर्नुपर्ने प्रावधान थियो । तर खाता खोल्न नपाएपछि उनले पाउनु पर्ने अनुदान दोस्रो व्यक्ति(अभिभावक)को खातामार्फत उनको हातमा पारिदियो ।

उनी दृष्टिविहीन भएको कारण देखाएर बैंकले खाता खोल्न नदिएको नेपाल अपाङ्ग महिला संघ गोरखाकी अध्यक्ष रत्न गुरुङले बताइन् । ‘उनको नजिकको बैंक छेपेटारको सांग्रिला बैंक रहेछ, हामीले त्यहाँ खाता खोल्नका लागि धेरै प्रयास ग¥यौं, तर सकेनौं,’ उनले भनिन्, ‘उनी दृष्टिविहीन हो भनेर प्रमाणित गर्न उनीसँग अपाङ्गता कार्ड छ, बैंकले फेरि अपाङ्ग हो भनेर प्रमाणित गर्न वडाको सिफारिस लिएर आउनु भन्छ ।’

‘अपाङ्गता भएको व्यक्तिलाई यो भन्दा अपमानजनक कुरा के हुन सक्छ ?’ उनले प्रश्न गरिन् । यस्तै गत असार महिनामा समुदायमा आधारित अपाङ्गता पुनःस्थापना कार्यक्रमअन्तर्गत बारपाक सुलिकोट गाउँपालिकामा तीन दिने तालिम सञ्चालन गरिएको थियो । तालिमपछि बारपाक सुलिकोट सक्रिय अपाङ्ग समूह खोलियो । उक्त समूहको खातामा एक लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने थियो ।

त्यहाँ ग्लोबल बैंक मात्रै थियो । समूहले त्यही बैंकमा खाता खोल्न खोज्यो, तर मिलेन । ‘किन मिल्दैन भनेर सोध्दा अपाङ्गता भएको कारणले मिल्दैन भने’, अध्यक्ष गुरुङले भनिन्, ‘हेडक्वार्टरले अप्रुभ दिनुपर्छ, त्यो दिँदैन त्यसैले हामीले खाता खोल्दैनौं भने ।’

हस्ताक्षर गर्न सक्ने हातलाई पनि बैंकले ल्याप्चेमा धसाउँछन्
नेत्रहीन संघ गोरखाका अध्यक्ष पशुराम भट्ट आफैं यो विभेदका भुक्तभोगी हुन् । ‘एक दुई वर्षअघि यसको भिक्टिम म आफैं भएको छु । अहिले पनि समस्या उस्तै छ,’ उनले भने, ‘अपाङ्गता भएको व्यक्तिले खाता चलाउँदा ल्याप्चे नै लगाउनुपर्छ भन्ने कार्यविधि कतै पनि छैन ।’

उनका अनुसार आजका दृष्टिविहीनहरू सबै अशक्त छैनन् । उनीहरू पढेका छन्, सक्षम छन्, आफ्नो हस्ताक्षर आफैं गर्न सक्छन् । तर बैंकले उनीहरूलाई अझै पुरानै चस्माले हेर्छ । बारम्बार काम लिएर बैंक धाउनुपर्ने दृष्टिविहीनका लागि हरेक पटक ल्याप्चे लगाउनुपर्ने बाध्यता सास्ती मात्र होइन, आत्मसम्मानमाथिको चोट भएको उनले बताए ।

‘नेपालको संविधानले त सबै नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरेको छ,’ उनले प्रश्न गर्दै भने, ‘तर, फेरि हामीलाई किन तल्लो दर्जाको नागरिकको व्यवहार गरिन्छ त ?’ संघमा यस्ता गुनासा लिएर आउनेहरू धेरै छन् । तर धेरैजसो खुलेर बोल्न सक्दैनन् । त्यसैले उनीहरू मनमा कुरा बोकेर फर्किने गरेको भट्टले सुनाए ।

समस्या खाता खोल्दामै सकिँदैन । खाता खुलेपछि मोबाइल बैंकिङ खोल्न खोज्दा पनि आनाकानी गर्ने गरेको भट्टले बताए । मोबाइल बैंकिङ चलाउन पनि बैंकले मान्दैन । सामाजिक सुरक्षा भत्ताको खाता चलाउँदा पनि सबैलाई ल्याप्चे नै लगाउनुपर्छ भन्ने गरेको गुनासोहरु पनि सुन्नमा आएको अध्यक्ष भट्टले बताए । दृष्टिविहीन मात्र होइन, अन्य अपाङ्गता भएका व्यक्तिहरूले पनि यही नियति भोगिरहेका छन् ।

‘अपाङ्गता भए पनि अहिले सबै सक्षम र शिक्षित पनि हुन्छन्,’ अध्यक्ष भट्टले भने, ‘हस्ताक्षर गर्न सक्ने मान्छेलाई जबरजस्ती ल्याप्चे लगाउनु भनेको उसलाई तिमी अरू सरह होइनौ भन्नु हो ।’ ग्राहकको सुरक्षाका लागि त्यस्तो विधि अपनाएको हुनसक्ने बैंकर्स क्लब गोरखाका अध्यक्ष राजेश खनालले बताए ।

उनीहरुको खाताको दुरुपयोग नहोस् भन्ने उद्देश्यले पनि यस्तो गरिएको हुनसक्ने उनको भनाइ छ । सबै बैंकको कार्यविधि आफूलाई जानकारी नभएको बताउँदै के कारणले यस्तो समस्या आएको हो भनेर बुझ्ने र समाधानका लागि बैठकमा छलफल गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्