चारजनाद्वारा एक महिलामाथि हातपात
दरौंदी ः एक महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ की गाईपालक किसान सञ्जु भट्ट नेपालीमाथि हातपात गर्ने दुई पुरुष र दुई महिलालाई पक्राउ गरेको प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिए । सोमबार दिउसो १२ बजे सञ्जुमाथि हातपात गरेको आरोपमा प्रहरीले अजीरकोट गाउँपालिका ३ लप्सीबोटका मुक्ति बिक(राजन), उनकै छोरा बिदुर बिक, बुहारी बिनिता उपरकोटी र बिनिताकी दिदी सिरानचोक गाउँपालिका ८ की सबिना रेश्मी मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले आर्थिक कारोबारको बिषयमा बिबाद भएपछि हातपात गरेको खुलेको छ । यानप्रसाद भट्टको गाई फाराम गरिद गर्न बिक परिबारले गत भदौमा पेश्की स्वरुप दिएको रकम फिर्ता माग्दा बिबाद भएको भट्टले जानकारी दिए । ‘केहीदिनभित्र रकम फिर्ता दिन्छु भनेर म सोमबार बिहानै काठमाडौं गएको थिएँ’, भट्टले भने, ‘म नभएको मौका छोपी मेरो घरमा गएर एक्लै बसिरहेकी श्रीमतीमाथि एक्कासी हातपात गरेछन् ।’ उनले राजनीतिक शक्तिको आडमा आफूमाथि आक्रमण भएको आरोप लगाउँदै कानूनको ढोका ढक्ढक्याउने बताए । ‘राजनीतिक शक्तिको आडमा अन्यायमा पार्न सक्छन् । म मानवअधिकारकर्मी, महिला अधिकारकर्मी गुहार गरेर न्याय माग्नेछु’ उनले भने ।




