| आइतवार, कार्तिक २२, २०८३

बोक्सीको आरोपमा कुटाइ खाएकाको बयान ःज्यान जोगाउन मुस्किल भयो

दरौँदी ः  सुरक्षा दिन गएको प्रहरीसमेत कुटाइ खाएर फर्किएपछि बोक्सी को आरोप खेपिरहेका काशिगाउँका काली गुरुङका परिबार भागेर सदरमुकाम आइपुगेका छन् । बोक्सीको आरोपमा निर्घात कुटाइ खाएका काली गुरुङ, उनकी छोरी मीनकुमारी गुरुङ र अर्की छोरी सूचना गुरुङ काखे बालबालिका च्यापेर सोमबार अबेर गोरखा सदरमुकाम आइपुगेका हुन् ।
बर्खाका बेला भेलबाढी तर्न नसकी(नसकी दुई दिनको पैदल बाटो हिडेर सदरमुकाम आइपुगेको मीनकुमारीले बताइन् । उनीहरुमाथि शनिबार गाउँलेले निर्घात कुटपिट गरेका थिए ।
‘गाउँले सबै धुरिएर शनिबार दिनभरि कुटे । हामीलाई जोगाउन गएको प्रहरीले पनि कुटाइ खाए । छुट्याउन खोज्दा वडा सदस्यहरुले पनि कुटाइ खाए’, घाइते भएकी गुरुङले भनिन्, ‘घरमा बसे घरमै आगो लाइदिने भने । गाउँले धुरिएर सुशीला हालेर, होहल्ला गरेर काट्नुपर्छ,, मार्नुपर्छ, झुण्ड्याउनु पर्छ, मारेर गाड्नु पर्छ, घरमा आगो लाइदिनुपर्छ भने । बस्न नसक्ने भएपछि आइतबार बिहान झिसमिसेमै निस्केर भागेका हौं ।’ किरा फट्याङ्याङ्ग्रा पनि मार्न नसक्ने आफूहरुलाई बोक्सी लागेर मान्छे मारेको आरोप लगाएको भन्दै उनीहरुले पिडा पोखे । ‘हामी बोक्सी होइनौं भनेर पुरानो चलनअनुसार कालो कुखुराको रगतको टिका लगाएर छोराछोरी काखमा लिएर धर्म भाक्यौं तैपनि काट्नेमार्ने, जलाइदिने भनेपछि भागेर आयौं’ उनले भनिन् ।
कुटाइबाट आमा र बहिनीको तुलनामा मीनकुमारी बढी घाइते छन् । ‘चार जना महिला आएर कपाल समातेर रिङाएर ढुङ्गा ओछ्याएको आँगनमा पछारे’, उनले भनिन्, ‘त्यसपछि कतिले कुटे भनेर साध्यै छैन ।’ किन गाउँलेलाई खाएको भनेर कुटेको उनी बताउँछिन् । ‘किरा फट्याङ्ग्रा त मार्न माया लाग्छ तर हामीलाई मान्छे मारेको दोष लगाउँछन् । कसैको टाउको दुख्यो भने पनि हामीलाई नै दोष, कसैको खुट्टा दुख्यो भने पनि हामीलाई नै दोष, रुघा, पखाला लागे पनि हामीलाई दोष आउँछ । हामी त गाउँको रोग जस्तो भयौं’, उनले भनिन्, ‘यिनीहरु त बोक्सी हो, मान्छे बिरामी पार्छन्, मार्छन् भनेर यस्तो आरोप लगाउँछन् कि सुन्न पनि सकिदैन, सहन पनि सकिदैन । गाउँका केटाकेटीलाई पनि हाम्रो सानो सानो छोराछोरीसंग खेल्न दिदैनन् । अतिसार भएर बरु गाउँ नै छोड्नु परे छोडौंला न्याय नमागी छोड्दैनौं भनेर आएका हौं ।’ आफूहरु भागेर गोरखा बजार आएपनि घर जलाइदिने भनेर डरत्रास देखाएका उनले बताइन् ।
हिउँदमा भन्दा बर्खा महिनामा बढि आरोप आउने गरेको अर्की छोरी सूचनाको गुनासो छ । ‘हिउँदमा खासै आरोप खानु पर्दैन’, महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी उनी भन्छिन्, ‘जब बर्खा लाग्छ, गाउँमा धेरै रोग फैलिन्छ, मान्छे धेरै बिरामी हुन्छन्, अनि हामीले बोक्सीको दोष खानुपर्छ ।’ आमाको पालादेखिको बोक्सीको आरोप बालबच्चाको पालासम्म लाग्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । घरमा बसेका नाबालक छोराछोरी आफूहरुले कुटाइ खाएको खबरले रोएको र घर छोडेर भागौं भनेको घटना डाँकोछोडेर रुदै उनले सुनाइन् ।
बैठकमा नआए १० हजार रुपियाँ जरिबाना तिर्नुपर्छ भन्ने चेतावनी दिएर गाउँमा कचहरी गरिएको र सोही कचहरीमा कुटपिट गरिएको उनको भनाइ छ । ‘बैठकमा आएन भने १० हजार रुपियाँ तिर्नुपर्छ भनेर बोलायो’ रुँदैरुदै उनले भनिन्, ‘अनि हामी त जानेबित्तिकै बोक्सीहरु, डंकिनीहरु भनेर मुखमा थुक्न आए । अनि मार्दिनुपर्छ भनेर गाउँलेले नै ताली बजायो । पहिले मीनमाया घले र ठूली गुरुङले हात हाले अनि सबै गुटुटुटु आएर कुटपिट गरे ।’ मामा, भेना, स्कूलको अध्यक्ष र एउटा दाइले छुटाएर धन्नले बचाएको उनले बताइन् । सुरक्षा दिन आएको प्रहरीलाई पनि कुटेको उनले बताइन् । अन्यत्र भएका आफन्त हरुको फोन आउँदा फोन उठाउन समेत नदिइएको उनले गुनासो गरिन् । बोक्सी लागेर मारेको र मृतकको शरीरभित्र सर्प, भ्यागुता र छेपारो रहेको भन्दै भीम गुरुङको लास चिरेपछि धार्चे ६ काशि गाउँमा तनाब भएको हो ।
तनाब साम्य पार्न काशिगाउँ पुगेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको २९ जनाको टोली समस्या समाधान गर्न नसकी आइतबार फर्केको छ । कुटाइ खाएको प्रहरी समेत निरिह भएर फर्किएपछि पीडितहरुले सुरक्षाको प्रत्याभूति गर्न नसकेका हुन् ।
आरुघाटमा बसेर काशिगाउँको निगरानी गर्ने प्रजिअ नारायण भट्टराईले बताए । ‘आरुघाटमा बसेर निगरानी गर्ने भनेर फर्काइएको हो’ प्रजिअ भट्टराई ले भने, ‘वडा अध्यक्षलाई गाउँको अबस्था साम्य पार्न आग्रह गरेका छौं । कानूनी कारबाही हामी अघि बढाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्