| शनिबार, बैशाख ८, २०८१

पक्राउ

सुनको मुर्ती भन्दै लाखौँ ठग्ने गोरखाका रमेश सहित तीन जना पक्राउ

पोखरामा सुनको मुर्ती भनी लाखौँ ठगी गर्दै आएका तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखराको विभिन्न स्थानमा सुनबाट बनेको जस्तै देखिने बुद्धको मुर्ती १३ लाखमा बिक्री गरी फरार भएका उनीहरुलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
दोलखा जिल्ला घर भई काठमाण्डौ–९ बस्दै आएका ५२ बर्षीय नवराज पाण्डे भनिने रामराज सिवाकोटीले बोकेको झोलामा खोजतलास गर्दा झोलाभित्र राखिएको सुनको जस्तो देखिने पहेलो धातुको बुद्धको मुर्ति फेला पारी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताए ।
सिवाकोटी सहित गोरखा जिल्ला घर भई पोखरा–८ बस्दै आएका ३३ बर्षीय रमेश श्रेष्ठ भनिने देव कुमार श्रेष्ठ र रामेछाप घर भई काठमाण्डौ बस्दै आएका ३६ बर्षीय देवराज प्रधान भनिने बसन्त बहादुर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ६.१ केजी सुनजस्तो देखिने पहेलो धातुको बुद्धको मुर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, सुन जस्तै देखिने पहेलो धुलो, २ थान क्यासिनो कार्ड, भारतीय रासन कार्ड, भारतीय राजदुतवास काठमाण्डौ नेपाल लेखिएको कार्ड र विभिन्न बैंकहरुका चेक बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्