| आइतवार, कार्तिक २२, २०८३

गोरखा अदालतमा मुद्दाको चाप

 

जिल्ला अदालत गोरखामा मुद्धाको चाप बढ्दै गएको छ । अघिल्ला बर्षको तुलनामा आर्थिक बर्ष २०७५/७६ मा मुद्धाको चाप बढेको जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीले बताए । अदालतको कार्यसम्पादन लगायतका विषयमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्ध बिच्छेद, जबर्जस्ती करणी, बहुविवाह, बाल यौनदुब्र्यबहार लगायतका मुद्धा धेरै दर्ता हुने जानकारी दिए । जिल्ला अदालतको तथ्यांक अनुसार गत साउनदेखि हालसम्म चार सय ७७ मुद्धा दर्ता भएको थियो ।

अघिल्लो बर्षको फर्छौट गर्न बाँकी ९३ मुद्धासमेत गरेर कुल पाचँ सय ७० मुद्धामध्ये जिल्ला अदालतले हालसम्म तिन सय २१ मुद्धा फर्छौट गरेको श्रेस्तेदार विनोद अधिकारीले बताए ।

अदालतमा दुनियावादी फोैजदारी र सरकारवादी फौजदारीको तुलनामा दुनियावादी देवानी प्रकृतिका जग्गा विवाद, मानाचामल लगायतका मुद्धा सख्यांत्मक रुपमा धेरै छन् । अदालतमा अब दुई सय ४९ मुद्धा फर्छौट गर्न बाँकी रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिए । दुनियावादी देवानीका एक सय ७१, दुनियावादी फौजदारीका २४ र सरकारवादी फौजदारीका ५४ मुद्धा फर्छौट गर्न बाँकी रहेको जिल्ला अदालतको तथ्यांक छ । अघिल्लो बर्ष एकबर्षभित्रको मुद्धा शुन्य रहेको जिल्ला अदालत गोरखामा अहिले मुद्धा दर्ता भएको एक बर्ष भित्रका मुद्धा दुई सय ४१ छन् ।

१८ महिना नाघेका मुद्धा नरहेको र १८ महिनासम्मका ८ वटा मुद्धा रहेको श्रेस्तेदार अधिकारीले बताए । एकै बर्षमा तिनजना जिल्ला न्यायाधिसको हेरफेर लगायतका कारण धेरै मुद्धा फर्छौट हुन नसकेको उनको भनाई छ ।

आगामी बर्ष मेलमिलापमार्फत मुद्धा निरुपणलाई प्राथमिकता दिने जिल्ला न्यायधिस अधिकारीले जानकारी दिए । सर्वसाधारणलाई न्यायको पहुँचमा ल्याउनका लागि सबै स्थानीय तहमा मेलमिलापकर्ता सुचिकृत गरेर उनिहरुमार्फत काम गर्न स्थानीय तहलाई भनिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्