
सिरिञ्ज आतंक विषयमा दुई शिक्षक पक्राउ
दरौंदी ः काभ्रेको बनेपामा सिरिन्ज आक्रमणको विषयलाई लिएर दुईजना पक्राउ परेका छन् । पक्राउ परेका दुबै शिक्षक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले सिरिन्ज आक्रणको आरोपमा दुई जनालाई प्रहरीको नियन्त्रणमा रहेको बताए। दुई शिक्षक मध्ये एक महिला र एक पुरुष रहेको सापकोटाले बताए। ’हामीले पक्राउ परेका व्यक्तिबाट सोधपुछ गरिरहेका छौँ। तर अहिलेसम्म सिरिन्ज आक्रमणका कुरा खुलेको छैन’, उनले भने। काठमाडौंबाट सुरु भएको सिरिन्ज आक्रमणको श्रृंखला पछिल्लो समय काभ्रेको बनेपामा पुगेको छ। आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै इलाका प्रहरी कार्यालय बनेपामा एक दर्जन भन्दा धेरै सिरिन्ज आक्रमणका उजुरी आएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।




