९ लाख रकमसहित चितवनबाट २३ जुवाडे पक्राउ
प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोली छापा पार्न पुगेको थियो ।
नियन्त्रणमा लिइएकाहरु गोरखा, चितवन र तनहुँका भएको बताइएको छ ।
पक्राउ परेका जुवाडेहरुले भ्यालेन्टाइन डेको अवसर पारेर कौडा खेलेको जनाएका छन् । नियन्त्रणमा लिइएकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने चितवनका प्रहरी प्रमुख एसपी राठौरले जानकारी दिए ।
गएको तिहारमा पनि जुवा खेल्नेविरुद्ध चितवन प्रहरीले अप्रेशन चलाएको थियो । त्यसक्रममा १ सय २० पक्राउ परेका थिए ।




