
तिहारको उज्यालोमा अँधेरो नछाओस्
तिहार उज्यालोको पर्व हो। घरघरमा बत्ती बल्छन्, देउसी भैलोको रमझम हुन्छ, भाइटीकामा परिवार जोडिन्छ। तर यही उज्यालो र रमाइलोबीच हरेक वर्ष हामीले दुःखद खबर पनि सुन्नुपर्ने गरेको छ। कतै घरमा आगलागी हुन्छ, कतै चोरी हुन्छ, कतै सडक दुर्घटनामा कसैको ज्यान जान्छ। चाडपर्वको खुसी क्षणभरमै शोकमा बदलिन्छ। त्यसैले तिहारलाई साँच्चै शुभ बनाउने हो भने खुसीसँगै सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो ठम्याइ छ।
तिहारका बेला सुरक्षा जोखिम बढ्नुका कारण धेरै छन्। लक्ष्मी पूजामा बालिने दियो, मैनबत्ती र पड्काइने पटकाले आगलागीको ठूलो जोखिम निम्त्याउँछ। एउटा सानो लापरबाहीले वर्षौँको कमाइ खरानी हुन सक्छ। त्यसैगरी घर सुनसान पारेर गाउँघर जाने प्रवृत्तिले चोरी र डकैतीलाई मौका दिन्छ। अर्कोतर्फ तिहारको नाममा जाँडरक्सी खाएर सवारी चलाउने, तीव्र गतिमा हिँड्ने र जुवामा डुब्ने प्रवृत्तिले दुर्घटना र झैझगडा बढाउँछ। प्रहरीको तथ्यांकले नै चाडपर्वको समयमा यस्ता घटनामा वृद्धि हुने देखाउँछ। यो केवल संयोग होइन, हाम्रो लापरबाहीको परिणाम हो।
त्यसैले सुरक्षित तिहारका लागि सबैको जिम्मेवारी उत्तिकै आवश्यक छ। नागरिकले दियो र बत्ती बाल्दा सावधानी अपनाउने, पटका नपड्काउने वा सुरक्षित ठाउँमा मात्र पड्काउने, घर छाड्दा छिमेकीलाई खबर गर्ने र मादक पदार्थ सेवन गरी सवारी नचलाउने जस्ता सामान्य कुरा पालना गरे धेरै दुर्घटना आफैँ रोकिन्छन्। स्थानीय सरकार र प्रहरीले गस्ती बढाउने, जुवातास र अवैध मदिरा नियन्त्रण गर्ने र सचेतना कार्यक्रम चलाउने काम गर्नुपर्छ। तिहारलाई रमाइलो मात्र होइन, सुरक्षित र सभ्य बनाउने जिम्मेवारी हामी सबैको हो। बत्तीले घर मात्र होइन, मन पनि उज्यालो पारोस्। सुरक्षित तिहार नै साँचो तिहार हो। शुभ दिपावलीको सबैमा शुभकामना ।




