| आइतवार, साउन ३०, २०८३

स्वास्थ्य सेवामा गोरखा नगरपालिका एक कदम अगाडि

गोरखा नगरपालिकाले आफ्ना नगरवासीलाई निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा दिने हेतुले गोरखा अस्पतालसंग सेवा सम्झौता गरेको छ । सम्झौताअनुसार गोरखा नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्ति र नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई परिचय खुल्ने सरकारी कागजपत्रको आधारमा प्रदेश अस्पतालबाट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

नगरवासीलाई सेवा दिएवापत नगरपालिकाले अस्पताललाई १ जना डाक्टर, १ जना हेल्थ असिस्टेण्ट र फार्मेसी सञ्चालनका लागि १ जना फार्मेसी सहायक जनशक्ति नगरपालिकाले उपलब्ध गराउने जनाएको छ । यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४७ लाख १६ हजार ४४४ रुपैयाँ बजेट विनियोजन गरेको छ । निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत नेपाल सरकारले जारी गरेको ९८ प्रकारका औषधी, १८ प्रकारका प्रयोगशाला सेवा र १० प्रकारका अन्य सेवा समावेश छन् ।

त्योभन्दा अन्य सेवाको भने शुल्क तिर्नुपर्नेछ । यसमा सामान्य शल्यक्रिया, हाडजोर्नी प्लास्टर, एक्सरे, नेबुलाइजेसन, बिरामी भर्ना, ड्रेसिङ र घाउको सिलाई जस्ता सेवा पर्छन् । त्यस्तै पालिकाको सिफारिसमा अस्पतालमा हुने विशेष शल्यक्रियामा पनि नगरबासीलाई छुट दिइनेछ । अस्पतालबाट जारी हुने ओपिडी, इमर्जेन्सी टिकट तथा अस्पतालले निर्धारण गरेको अन्य सेवा पनि निःशुल्क उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको प्रवन्ध गर्ने राज्यको दायित्व हो । गोरखा नगरपालिकाले यिनै सेवा नगरवासीलाई दिनका लागि प्रदेश अस्पताल गोरखासंग सम्झौता गरेको छ । गोरखाका ११ पालिकामध्य नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा दिन अग्रसरता लिने गोरखा नगरपालिका पहिलो हो । यस्ता अनुकरणीय जिम्मेवारी सबै पालिकाहरुले बहन गर्नु आवश्यक छ । तब नागरिकको सच्चा सेवा गरेको ठहर्नेछ ।

प्रतिक्रिया दिनुहोस्