| बिहिबार, असार २४, २०८३

पूर्ण खोप सदा–सदाका लागि दीगो रहोस्

विफर उन्मुलन ग¥यो खोपले, औलो उन्मुलन ग¥यो खोपले, पोलियो उन्मुलन गर्दैछ खोपले, हात्तीपाइले उन्मुलन गर्दैछ खोपले । यस्ता धेरै स्वास्थ्य समस्या खोपका कारण निराकरण भएका उदाहरणहरु छन् ।

यतिसम्म, केही बर्ष अघि फैलिएको कोभिड १९, कोरोना महामारी नियन्त्रण पनि खोपले गरेको जगजाहेर छ । त्यसैले खोपको महत्व मानव जीवनमा, मानव सभ्यतामा ठूलो छ । अझै धेरै ठूला स्वास्थ्य समस्या निराकरणका लागि चिकित्सा क्षेत्रमा नविन प्रयोगहरु भइरहेका छन्, भइरहनेछन् । पढेको झुठो नहोस्, क्यान्सरविरुद्ध खोप आविष्कारको अन्तिम चरणमा छ ।

अहिले नेपालमा पनि विशेषतः बालबालिकालाई धेरै प्रकारका खोपहरु लगाउने गरिन्छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित रुपमा धनुष्टंकार, भ्यागुते रोग, क्षयरोग, रोटा, पोलियो, निमोनिया, लहरेखोकी, हेपाटाइटिस बी, हेमाफिलस, इन्फ्लुयन्जा, दादुरा, रुबेला, टाइफाइड, पाठेघरको मुखको क्यान्सरजस्ता रोगबाट बच्ने विभिन्न खोपहरु लगाउने गरिन्छ ।

जिल्लभरका त्यो उमेरसमूहका सबै बालबालिकाहरुले तत्तत् खोप लगाए वा लगाएनन् भनेर पनि नियमित निरीक्षण गरिन्छ ।
यदि विभिन्न कारणले खोप लगाउन छुटेका भए १५ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई पनि ती खोपहरु लगाइन्छ । यसरी सतप्रतिशत बालबालिकाले खोप लगाएको प्रमाणित भएपछि गोरखा जिल्लालाई पूर्ण खोप दीगोपना घोषणा गरिएको छ । यो धेरै ठूलो र राम्रो उपलब्धी पनि हो ।

गोरखा जिल्लाका १६ देखि २३ महिनाका एकहजार ७७५ बालबालिकाहरु र १५ महिनामुनिका दुईहजार ७६४ बालबालिका रहेको र उनीहरु सबैले पूर्ण र नियमित खोप लगाएको पाइएको छ । पूर्ण खोप मानव विकास सूचकांकको एउटा आधार हो । त्यस्तै यसले मान्छेको औसत आयु वृद्धि गराउँछ ।

त्यति मात्र होइन, पूर्ण खोपले व्यक्तिको आईक्यू बढाउने, उन्नत मानव सभ्यताको विकास गराउने काम पनि गर्दछ । त्यसैले पूर्ण खोपलाई सदा सदाका लागि दीगोपना कायम गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्