| आइतवार, बैशाख १९, २०८३

आशालाग्दो फड्को मार्दै आँपपिपल अस्पताल

गोरखाको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहिचान बनाएको आँपपिपल अस्पताल यतिबेला रुपान्तरणको नयाँ चरणमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै ग्रामीण भेगका नागरिकका लागि ‘अस्पताल’को पर्यायवाची बनेको यस स्वास्थ्य संस्थालाई गण्डकी प्रदेश सरकारले ५० शैयामा स्तरोन्नति गरेसँगै यसको साख र सेवाको दायरा थप फराकिलो बनेको छ ।

पछिल्लो समय प्रदेश सरकारले यहाँ स्वास्थ्य सहायक (एचए) को पठनपाठन समेत सञ्चालन गर्ने जुन निर्णय गरेको छ, यसले गोरखाको स्वास्थ्य सेवा र शैक्षिक स्तर दुवैमा एउटा नयाँ इँटा थप्ने निश्चित छ । अस्पतालको भौतिक संरचनाको विस्तार र शैया संख्या थपिनु मात्र पर्याप्त हुँदैन, त्यसलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र आधुनिक उपकरणको उपलब्धता अनिवार्य सर्त हो । प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिसँगै जनशक्ति थप्ने र सेवाहरूलाई विविधिकरण गर्ने कार्यलाई प्राथमिकतामा राख्नु सुखद पक्ष हो ।

यसबाट पालुङटार र आसपासका जिल्लाका नागरिकहरू सामान्य उपचारका लागि पनि पोखरा वा काठमाडौँ धाउनुपर्ने बाध्यतामा कमी आउनेछ । कुनै पनि अस्पतालले जब शैक्षिक कार्यक्रम सञ्चालन गर्छ, त्यसको प्रत्यक्ष लाभ स्थानीय समुदाय र संस्था दुवैलाई पुग्दछ । आँपपिपलमा स्वास्थ्य सहायक (एचए) को पढाइ सुरु हुँदा विभिन्न सकारात्मक प्रभावहरू देखिन्छन् ।
गोरखा र आसपासका विद्यार्र्थीहरूले आफ्नै गृहजिल्लामा सुलभ दरमा प्राविधिक(जनस्वास्थ्य) शिक्षा प्राप्त गर्ने अवसर पाउनेछन् ।

शैक्षिक गतिविधि सञ्चालन हुँदा अस्पतालमा ‘एकेडेमिक’ वातावरण सिर्जना हुन्छ, जसले गर्दा उपचार पद्धति थप वैज्ञानिक र गुणस्तरीय बन्न पुग्छ ।विद्यार्थीीहरूको आगमन र शैक्षिक चहलपहलले पालुङटार क्षेत्रको शैक्षिक छवि उच्च बनाउनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पु¥याउनेछ ।

अब आँपपिपल अस्पताल स्वास्थ्य उपचार केन्द्र मात्र रहेन, यो स्वास्थ्य जनशक्ति उत्पादन गर्ने थलो पनि बनेको छ ।

प्रतिक्रिया दिनुहोस्