
चुनावी एजेण्डा नारामा मात्र सिमित नहोस्
आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अव १४ दिन मात्र बाँकी छ । उम्मेदवारहरु आफ्नो पक्षमा मत फकाउन घरदैलो अभियानमा व्यस्त छन् । बिभिन्न चुनावी एजेण्डा लिएर आफ्नो निर्वाचन क्षेत्रमा डुलिरहेका छन् । तर बडिम्वना उनीहरुको यो पटकको चुनावी एजेण्डामा केही नयाँपन देखिएको छैन । अघिल्ला निर्वाचनकै एजेण्डा कपि पेष्ट गरेको देखिन्छ ।
बुढीगण्डकी आयोजना, पालुङटार एयरपोर्ट, गोरखकाली रवर उद्योग जस्ता एजेण्डाको भारी उम्मेदवारहरुले कहिलै बिसाउन पाएनन् । चुनावमा निर्वाचित भएसँगै आफ्ना चुनावी एजेण्डा बिर्सिने अघिल्ला उम्मेदवारहरुले नै नयाँलाई यसको भारी बोकाएका हुन् भन्दा फरक नपर्ला । अघिल्ला उम्मेदवारले गरेका बदमासी अहिलेका उम्मेदवारलाई भारी परेको छ । मतदाताका आक्रोश र असन्तुष्टीका प्रश्नहरुमाझ उनीहरु घेरिनु परेको छ । जवाफ दिनुपरेको छ ।
अवका उम्मेदवारले पनि यस्तै गल्ती नदोहो¥याउन् । नत्र आगामी चुनावमा केही गर्छु भनेर चुनावी मैदानमा उभिनेहरुले त्यसको व्याज तिरिरहनुपर्ने छ । आलोचना खेपिरहनुपर्ने छ । यसअघिका चुनावमा स्थान पाएको गठबन्धनले यो पटक हालसम्म टाउको उठाउन सकेको छैन । एकल प्रतिस्पर्धामा दलहरु अघि बढेका छन् । त्यसैले पनि अहिलेको चुनाव थप रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिन्छ ।
चुनाव जो सुकैले जितोस्, तर जित पश्चात एजेण्डा अलपत्र पारेर स्थानीयमाझ उनीहरु नहराउन् । विश्वास र भरोसा गरेर जिताउने स्थानीयको उनीहरुप्रतिको भरोसा र विश्वास कहिलै नगुमोस् । असम्भव ठुला सपना बाड्नुभन्दा आफ्नो पद र क्षमताले गर्न सक्ने खालका एजेण्डा लिएर जनतामाझ जानु उचित हुन्छ । जिल्लाकै हकमा हेर्ने हो भने स्थानीयको त्यति ठुलो अपेक्षा देखिदैन ।
गास, वास, कपासको साथमा शिक्षा, स्वास्थ्य, सडक जस्ता आधारभूत कुराकै सपना उनीहरुले देखिरहेका छन् । आफ्नो पहुँच र क्षमतावेगरका एजेण्डा र सस्तो नारा लगाएर मात्र चुनाव जितिदैन । आफ्नो चुनावी नारा चुनाव जितेपछि आफैलाई भारी नबनोस् । त्यसैले सानै भएपनि सक्ने एजेण्डा लिऔ, अनि पुरा गरौ । अनि मात्र स्थानीयको रोजाईमा पर्न सकिन्छ ।




