
अलैंची प्रवद्र्धन गरी युवाहरुलाई स्वदेशमै रहने वातावरण बनाऊ
गोरखाको अजिरकोट गाउँपालिकाका बासिन्दा आजभन्दा ३० बर्ष पहिलेदेखि अलैंचीखेतीतर्फ उन्मुख भएका हुन् । कालो सुन भनेर चिनिने अलैची खेती गरी मनग्य आम्दानी हुन थालेपछि त्यस भेगका बासिन्दाले अन्नबाली खेती गर्ने खेतबारी मासेर अलैंची खेती गरे ।
करिब २० बर्षको यो अन्तरमा अलैंची बिस्तारै बिग्रिदै जान थाल्यो । बोट मर्दै जान थाल्यो । खेती गर्ने किसानहरु पनि वृद्ध र अशक्त हुँदै गए । नयाँ पिडीहरु वैदेशिक रोजगारीतर्फ उन्मुख भए । गाउँ युवाविहिन भएपछि अहिले अजिरकोटमा न अन्नबाली, न अलैंची खेतीको अवस्था छ ।
तर गाउँपालिकाको पहलमा केही समयदेखि त्यहाँ अलैंचीलाई पुनर्जीवन दिन सुरु गरिएको छ । यसअघि अलैंची लगाइएको ठाउँमा माटोको उपचार गरी पुन नयाँ विरुवा अलैंची लगाउन थालिएको हो । यसले यस क्षेत्रमा फेरि अलैंची राम्रो भई स्थानीयबासीको आयआर्जनमा वृद्धि गर्न सक्ने आशा तथा विश्वास लिन सकिन्छ ।
अहिले वैदेशिक रोजगारी पनि उतिसारो राम्रो आयआर्जनको बाटो हुन सकिरहेको छैन । अमेरिका, अस्ट्रेलिया, इजराइल, कोरिया, बेलायत जस्ता केही मुलुकबाहेक अन्य मुलुकमा जाने युवाहरु पनि धेरै दुख, कम आन्दानी तथा काम गरेको पारिश्रमिक नपाएर हैरान भएका समाचार बग्रेल्ती आइरहेका छन् ।
त्यसैले अब युवाहरुले कतै अलैंची, कतै लिची, कतै स्याउ, कतै सुन्तला, कतै कफी तथा यस्तै आयआर्जन हुने खेती गरेर स्वरोजगार गर्नु नै वुद्धिमानी हुनेछ । त्यस्तैगरी कुखुरापालन, बाख्रापालन, माछापालन जस्ता व्यवसाय गरी स्वरोजगार गर्नुलाई वुद्धिमानी मानिन्छ ।
यसका लागि स्थानीय सरकारले वातावरण बनाइदिनु पर्छ । स्थानीय सरकार भनेको स्थानीय स्तरका नागरिकको भरोशाका आधार हुन् । उनीहरुले नैतिक, भौतिक, आर्थिक तथा विभिन्न तबरले सहयोग गरी युवाहरुलाई स्वदेशमै रहेर व्यवसाय गर्ने वातावरण बनाइदिनु पर्छ ।




