| मङ्लबार, कार्तिक २४, २०८३

यो निर्वाचन ‘सिस्टम इरर’ सुधार्ने बन्न सकोस्

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा भंग भयो । जेनजी नेतृत्वको मागअनुसार सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भयो । सो सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोक्यो ।

जेनजीको आन्दोलन साम्य भएपछि जेनजीको नेतृत्वदायी व्यक्तित्व को हो भन्नेमा अलमल भयो । रास्वपाले जेनजीको भावनालाई समेटेर यो गतिविधिको अपनत्व लिने प्रयास गरेको थियो तर खास जेनजीहरुले रास्वपालाई नेतृत्व स्वीकार गरेनन् । लामो समय अलमलअलमलमै बित्यो ।

लामो समय तरल बनेपछि जेनजीकै नेतृत्व तहमा रहेका केही शक्तिले चलखेल गरी बन्दी जीवन बिताइरहेका रवि लामिछानेलाई रिहा गराए । त्यसपछि राजनीतिको मैदानमा आएका रवि लामिछानेले फेरि जेनजी आन्दोलनको मर्म र भावनालाई समात्ने प्रयास गरे । यसपटकको उनको प्रयास भने सफल भयो ।

जेनजी मुभमेण्टको भूमिगत रुपमा नेतृत्व गरिरहेका बालेन शाह, जेनजी बिद्रोहपछि एकाएक देखिएका सुधन गुरुङ जस्ता जेनजी आन्दोलनको अग्रमोर्चामा देखिएकाहरु रास्वपामा प्रवेश गरेपछि जेनजी भनेका रास्वपा, रास्वपा भनेको जेनजीजस्तो देखिएको छ ।

यही माहोलमा अहिले मुलुक फागुन २१ मा हुने चुनावमय बनेको छ । अहिले जसरी मुलुक जेनजीमय(रास्वपामय) देखिएको छ, २०६२/०६३ को जनआन्दोलन र शान्तिप्रक्रिया आएपछिको अवस्थामा मुुलुक यस्तै माओवादीमय बनेको थियो ।
जसरी २०६४ को चुनाव माओवादीमय भएको थियो, त्यसैगरी युवापुस्ता(रास्वपा) यो चुनावलाई पनि रास्वपामय चुनाव बनाउने चेस्टा गर्दैछन् ।

अहिलेको माहोलले २०६४ सालको उन्माद सम्झाए पनि, आजको युवा पुस्ता पहिलेभन्दा सूचना र प्रविधिमा निकै अगाडि छ । त्यसैले, फागुन २१ को चुनाव केवल ‘रास्वपा’ वा अन्य परम्परागत दलहरूको जितहारको विषय मात्र नबनोस् । यो चुनाव त नेपालको शासन पद्धतिमा देखिने ‘सिस्टम इरर’ सुधार्ने एउटा ठूलो ‘अपडेट’ बन्न सकोस् ।

आधुनिक नेपालका लागि आदर्श चुनाव भनेको त्यो हो, जहाँ मतदाताले कसैको अनुहार हेरेर वा कसैको बोलीबाट प्रभावित भएर होइन, बरु आफ्नो र आफ्ना भावी पुस्ताको भविष्य सुनिश्चित गर्ने ‘भिजन’ हेरेर मतदान गर्छन् । युवा पुस्ताको चेस्टा अब सडकमा चिच्याउनु, सामाजिक सञ्जाल रंग्याउनु मात्र होइन, मतपत्रमार्फत विवेकको फैसला सुनाउने हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्