
जिल्लामा उद्योग, कलकारखाना खुल्नु सुखद
वैदेशिक रोजगारीमा युवा पलायन, बसाइँसराइ र घट्दो जन्मदरले अहिले पहाडी गाउँबस्ती खण्डहर हुदै गएको छ । अहिले प्राय गाउँबस्तीका घरहरुमा प्रौढ र वृद्धहरु मात्र देखिन्छन् । बालबालिका शून्य हुदै गएको छ । कैयौँ गाउँहरुमा विद्यालय बन्द छन् । युवा फाट्टफुट्ट देखिन्छन् । यही घट्दो दर कायम रहे केहीबर्षमै गाउँबस्ती मानवबस्तीबिहिन हुने त्रास छ ।
यदि गाउँघरमा पनि उद्योग कलकारखाना खुल्ने हो भने रोजगारी खोज्दै भौतारिएकाहरु गाउँमै फर्कनेछन् । यदि उच्च गुणस्तरीय विद्यालय गाउँठाउँमा खुल्ने हो भने बालबालिका पढाउन सहर पस्नेहरु गाउँ फर्किनेमा सन्देह छैन । यदि उच्चकोटीको अस्पताल गाउँठाउँमा सञ्चालन हुने हो भने गाउँ पुनः गुल्जार हुनेछ, हराभरा हुनेछ ।
अहिले पालुङटार नगरपालिका ७ फलामे भन्ने ठाउँमा सानोतिनो भने पनि एउटा उद्योग खुल्ने निश्चित भएको छ । सात आठ करोडको लागतमा प्लाईका लागि चाहिने कच्चापदार्थ(कोरटिलिङ) बनाउने उद्योग स्थापनाका लागि धमाधम जग खन्ने काम भइरहेको छ । शुभलक्ष्मी प्लाई एण्ड भेनियर्स कम्पनी प्रालिले सो उद्योगका लागि यहाँ २० रोपनी जग्गा खरिद गरिसकेको छ । अहिले उद्योगका लागि जग्गा सम्याउने काम पनि धमाधम भइरहेको छ ।
आउँदो असोज १ गते विश्वकर्मा पूजाको दिनदेखि उद्योग सञ्चालन गर्ने तयारीमा सञ्चालकहरु छन् । पछि २५ देखि २७ करोड रुपैयाँसम्म लगानी गरी प्लाई उद्योग सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । अहिले उद्योग सञ्चालक टिममा चारजना आवद्ध छन् । कच्चपदार्थ उत्पादन गर्ने उद्योग मात्र सञ्चालन भयो भने पनि स्थानीय तथा अस्थानीय दक्ष, अर्धदक्ष, अदक्ष गरी ३०/४० जनाले रोजगारी पाउनेछन् । यस क्षेत्रमा उत्पादन हुने उतिस, चिलाउने, आँप, लहरेपिपलको प्रयोग हुने भएकाले काठ व्यवसायीहरुले पनि काम पाउनेछन् ।




