| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य संस्थाको सेवामा भवन बाधक नबनोस्

स्वास्थ्य सबै नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधानको धारा ३५ मा पनि स्वास्थ्यको हक उल्लेख गरिएको छ । स्वास्थ्यलाई मानिसको जिवनको सबै भन्दा ठुलो धन पनि भनिन्छ । अहिले गाँउ–गाँउमा स्वास्थ्यको पहुँच पुगेको छ । सबै नागरिकलाई स्वास्थ्य सेवा लिनबाट बञ्चित नगराउन वडा स्तरमै स्वास्थ्यचौकीहरु बिस्तार गरिएको छ । पालिकामा कम्तिमा ५ देखि १५ शैयाका आधारभूत अस्पतालहरु निर्माणाधिन छन् । तर कपितय स्वास्थ्य संस्थाहरुले भवनका कारण सहज सेवा प्रवाहमा समस्या भोगिरहेका छन् ।

सुगम मानिने गोरखा नगरपालिकाकै कुरा गर्ने हो भने कुल ६ वटा स्वास्थ्य चौकीमध्ये दुई वटा स्वास्थ्य चौकीको पुरानै भवन छ । साँघुरिएको पुरानो भवनबाट सेवा प्रवाह गर्न सहज पक्कै छैन । जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माण कार्य अघि बढ्न नसकेको बताइएको छ । भवनका लागि कम्तिमा ५ रोपनी जग्गा संस्थाको नाममा वा भोकाधिकार भएको हुनुपर्ने प्रावधान छ ।

भौगोलिक वनावटलाई वेवास्ता गरी केन्द्रमा बसेर बनाइने यस्ता नीति नै कहिले काही बिकास बाधक बन्न पुग्छ । गोनपाका कुरा मात्र होइन जिल्लाभर कतिपय स्वास्थ्य संस्थाको अवस्था पनि यस्तै छ । कतै भवन अभावले समस्या, कतै पक्की सडक । यस्ता समस्याले बिरामीलाई सहज रुपमा सेवा लिन मुश्किल नै हुन्छ ।

सहज र प्रभावकारी स्वास्थ्य सेवामा भवन र त्यसको संरचनाले पनि ठुलो अर्थ राख्छ । पर्याप्त कक्षसहित नयाँ भवनबाट सेवा प्रवाह गर्न जति सहज हुन्छ त्यति पुरानो साँघुरो भवनबाट सम्भव हुदैन । त्यसैले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन भौतिक संरचनाको पनि उत्तिकै महत्व हुन्छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । स्वास्थ्य संस्थाको सेवामा भवन बाधक नबनोस् ।

प्रतिक्रिया दिनुहोस्