| आइतवार, कार्तिक २२, २०८३

खर्च गर्न पनि सकस ?

सिधारेखाबाट बुझ्दा आर्जन गर्न कठिन हुन्छ, खर्च गर्न त के आइतबार ? तर व्यवहारमा न सबै कुरा सरल रेखामा हुन्छ, न सबै कुरा खर्च गर्न सजिलो हुन्छ । सरकारी बजेट खर्च गर्न त्यति सजिलो नहुने रहेछ भन्ने सरकारी बजेटको खर्च दर हेर्दा देखिने रहेछ । नेपालकै हरेक पालिकाहरुलाई सरकारले दिएको बजेट खर्च गरेको दर हेर्ने हो भने चालु खर्च गर्न जति सजिलो गरी भएको छ, पुँजिगत(विकास) खर्च गर्न नसकिने रहेछ ।

हरेक पालिकाको, हरेक बर्षको बजेटको खर्च विवरण अध्ययन गर्ने हो भने खर्च गर्न नसकेकै देखिन्छ । अहिले आर्थिक बर्ष २०८१/०८२ को पाँच महिना बितिसकेको छ । असार महिनामा विकास निर्माणको काम गर्न खासै अनुकूल समय हुदैन । अबको जेठसम्म गर्नुपर्ने कामहरु धेरै छन् । यति धेरै काम गर्नुपर्ने छ, तर हाम्रा उपभोक्ता समितिहरु, निर्माण व्यवसायीहरु अन्तिम समयमा मात्र काम गर्न तम्सिन्छन् ।

त्यतिबेला मात्र सबैले काम गर्दा कामदारको अभाव, समयको अभाव हुन्छ । कामको मिहिन ढंगले अनुगमन भ्रमण गर्न, गुणस्तर नाप्न, जाँच्न सम्भव हुँदैन । यही मौकामा लटरपटर काम गरेर भुक्तानी गर्ने प्रचलन छ । यसरी भुक्तानी गर्दा पनि यथेष्ट खर्च हुँदैन । यो आर्थिक बर्षको पाँच महिना बितिसक्दा गोरखाका पालिकाहरुले पुँजीगततर्फ ज्यादै न्यून खर्च गरेका छन् ।

गोरखा नगरपालिकाले २.७५ प्रतिशत, पालुङ्टारले ३.५२ प्रतिशत, बारपाक सुलिकोटले ३.७९ प्रतिशत, चुमनुब्रीले २.७, आरुघाटले १.९४, धार्चेले ०.९२ प्रतिशत, भीमसेनले ७.१३ प्रतिशत र सहिद लखनले १६.०७ प्रतिशत खर्च गरेका छन् ।
पाँच महिनासम्म यति कम दरमा खर्च हुनु सुखद पक्ष होइन । बिगतमा पनि असार मसान्तसम्म पुग्दा पुँजीगत खर्च न्यून नै हुने गरेको थियो । अब पुँजिगत खर्च वृद्धि गर्न सशक्तिकरण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्