| सोमवार, अशोज ११, २०८३

बन्द र हड्ताल सदाका लागि बन्द गरौँ

आफ्ना माग पूरा गर्नका लागि बन्द र हड्ताल अहिले फेसन जस्तो भइसक्यो । सानातिना मागका लागि पनि बन्द गरेर सर्वसाधारणलाई दुख दिने गलत प्रवृति पछिल्लो समय हाबी हुदै गएको छ । यो गलत प्रवृति स्वयम बन्दकर्ताका लागि पनि फाइदाजनक छैन । सर्वसाधारणलाई त फाइदा हुने कुरै भएन ।

यस्ता गलत प्रवृतिको अन्त्य गर्नु नितान्त आवश्यक छ । केही दिनअघि मात्र आफ्ना माग पूरा गर्न भन्दै यातायात व्यवसायीले गण्डकी प्रदेशभर सार्वजनिक यातायात सेवा बन्द गरे । यसबाट सर्वसाधारणमा पर्न गएको समस्या उनीहरुले मसशुस गर्न सकेनन् ।

आफ्नो स्वार्थ परिपूर्तिका लागि सर्वसाधारणको समस्यालाई वेवास्ता गर्दै गरिएको बन्दले उनीहरु स्वयमलाई पनि लाभ भने पक्कै भएन । सेवाका लागि भन्दै व्यवसायमा होमिएका यातायात व्यवसायीको यात्रु र सवसाधारणलाई दुख दिने यो कस्तो सेवा हो ? स्वार्थ र नाफामात्र सोच्नु पक्कै राम्रो होइन ।

व्यवसायीको पनि आफ्नै समस्या होलान् । राज्यले बिभेद ग¥यो होला । आफ्ना जायज माग र अन्याय बिरुद्ध आवाज उठाउनुपर्छ । तर त्यसका लागि अन्य धेरै उपायहरु छन् । बन्द हड्ताल जस्ता गतिविधी नै गर्नु आवश्यक पर्दैन । आन्दोलनका पनि बिभिन्न चरण होलान् । आम जनतालाई दुख नदिई छलफल र वार्ताबाट पनि माग सम्बोधन हुन सक्ला ।

सकारात्मक सोच र चिन्तनबाट पनि अगाडी बढ्न सकिन्छ भन्ने पाठ सिक्नु सबैले जरुरी छ । माग सम्बोधनका लागि बन्द र हड्ताल समाधानको उपाय हुदैँ होइन । सर्वसाधारणलाई दुख दिनुभन्दा उनीहरुको मन जित्न सके माग सम्बोधनका लागि आम जनताको पनि सेन्टिमेन्ट जित्न सकिन्छ र उनीहरुले पनि शान्तिपूर्ण आन्दोलनमा पक्कै साथ दिनेछन् । बन्द र हड्ताल जस्ता गतिविधी आजैबाट बन्द गरौँ ।

प्रतिक्रिया दिनुहोस्