
लार्के सडकका लागि यो बजेट हात्तीको मुखमा जीरा
गोरखाका ठूला योजनाहरुमध्य प्रमुखमा पर्दछ, लार्के सडक । बेनिघाट, आरुघाट, लार्के सडक निर्माण भएपछि उत्तरी सीमादेखि दक्षिणी सीमा जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्ने प्रक्षेपण गरिएको छ । यो बेनिघाटदेखि लार्केसम्मको सडकको लम्बाइ जम्मा १५४ किलोमिटर छ ।
एकातिर सो राजमार्ग चाँडै निर्माण सम्पन्न भए, स्थानीयबासीको दैनन्दिन जीवनचर्या सहज हुनेथियो, अर्कातिर यो राजमार्ग जति चाँडै निर्माण सम्पन्न गर्न सक्यो, उति नै द्विदेशीय सीमा जोड्ने रणनीतिक राजमार्ग बन्नेथियो । त्यसले गोरखाको विकासको ढोका खुल्ने निश्चित थियो ।
तर त्यसो हुन सकेन । सो सडकको ट्रयाक निर्माणका लागि बर्षेनी बजेट सिलिङ घट्दै छ । स्थानीयबासी, स्थानीय राजनीतिक नेताहरुले सो सडकका लागि ५० करोडभन्दा बढि बजेट बिनियोजन गर्न निरन्तर सरकारको ध्यानाकर्षण गराइरहेका हुन्छन् । वर्तमान प्रधानमन्त्री पटक पटक चुमनुब्री जाँदा होस् वा प्रधानमन्त्री कार्यालय गएर पनि स्थानीयले सो सडक चाँडै निर्माण सम्पन्न गर्न जोडदार माग गर्ने गरेका हुन् ।
तर जति भनसुन गरे पनि बजेट भने बर्सेनी घट्दै आइरहेको छ । तीनबर्षअघि १५ करोड प्राप्त भएको सो सडकका लागि गतबर्ष १० करोड प्राप्त भयो । अहिले भने जम्मा सात करोड रुपैयाँ मात्र विनियोजन भएको छ । यो बजेट सो सडकका लागि हात्तीका मुखमा जीरा सरह हो ।
सेनाले छिटो काम गर्ने भनेर स्थानीयबासीले छेकम्पार सडक समेत सेनाले बनाउन माग गरिरहेका छन्, तर सेनाले बनाइरहेको लार्के सडकका लागि बजेट भने जम्मा सात करोड । यति बजेटले न सेनाले चाहेर छिटो काम बन्छ, न स्थानीयबासीले चाहेर छिटो काम बन्छ ।
जहाँ ट्रयाक छ, काम चलिरहेको छ, त्यहाँ भन्दा बजेट बिनियोजन गर्दा जहाँ ट्रयाक नै छैन, त्यहाँ ट्रयाक बनाउन प्राथमिकता दिनुपर्ने न्यायोचित हो, तर चुमनुब्रीजस्तो दुर्गम भेग, जहाँ पुग्न अहिलेसम्म पनि तीन दिन, चार दिन पैदल हिड्नुपर्छ, त्यस्तो ठाउँमा सडक निर्माणलाई प्राथमिकता नदिनु दुखद होे ।




