
आधारभूत अस्पतालको योजना अलपत्र नबनोस्
हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभूत अस्पताल बनाउने सरकारको नीति अनुरुप २०७७ साल मंसिर १५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३९६ अस्पतालको एक साथ शिलान्यास गरे । त्यसमा जिल्लाका केही स्थानीय तहपनि समेटिएका थिए । दुई बर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्य राखिएको थियो । तर जिल्लाको अधिकांश पालिकामा आधारभूत अस्पतालको योजना अलपत्र छ । आरुघाट बाहेक अन्य गाउँपालिकाले (गोरखा र पालुङटार बाहेक) अस्पताल संचालन गर्न सकेका छैनन् ।
कतै जग्गाको टुंगो छैन भने कतै योजना डिपिआरमै सिमिति छन् । कतै भवन निर्माण हुदैँ छ । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रको योजनामा पनि यति लापरवाही हुनु दुखद हो । हुन न योजनाहरु अलपत्र पर्नु, समयमै सम्पन्न नहुनु जिल्लाका लागी नौलो होइन । कतिपय योजनाहरु अझै अलपत्र अवस्थामै छन् । चाहे त्यो बिकास निर्माणको योजना होस् वा स्वास्थ्य तथा शिक्षा जस्तो सम्वेदनशील क्षेत्रको । यस्तो लापरवाहीको अन्त्य हुनुपर्छ ।
आधारभूत अस्पताल नागरिकको स्वास्थ्यको मेरुदण्ड सावित हुनसक्छ । बिशेषत बिकट तथा ग्रामिण क्षेत्रमा यसको महत्व र आवश्यकताको सिमाको वयान गरिनसक्नु छ । सामान्य उपचारको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता, सामान्य रुघाँखोकी र ज्वँरो आउँदा सिटामोलसम्म पाउन नसक्ने अवस्था, सामान्य स्वास्थ्य सम्बन्धी परामर्श समेत पाउन नसक्नेका लागी आधारभूत अस्पताल स्वास्थ्य क्षेत्रमा पक्कै बरदान सावित हुनसक्छ ।
त्यसैले आधारभूत अस्पताल योजनालाई अलपत्र नबनाऔ । समयमै सम्पन्न गरेर नागरिकलाई स्वास्थ्य सेवाको पहुँचलाई सहज र सुलभ बनाउन तत्पराता देखाउ ।




