| आइतवार, कार्तिक २२, २०८३

आत्मनिर्भर बनाउने मनिषा पथ

संघीय शासन व्यवस्था लागु भएर पहिलो पटक स्थानीय तहको निर्वाचन भएपछि ‘गाउँगाउँमा सिँहदरबार आयो’ भन्ने ढोल पिटाइयो । गाउँलेले सिँहदरबार आएको अनुभूति नगरेपछि गाउँलेले ‘सिँहदरबार आएन, सिँहमात्र आयो’ भनेर आलोचना गरे । जनताको भोट पाएर निर्वाचित भएपछि जनतामुखी हुनुपर्ने थियो तर, कतिपय जनप्रतिनिधिहरु निर्वाचित भएपछि जनतामुखी नभै नेतामुखी, केन्द्रमुखी, कमिशनमुखी भएपछि सर्वसाधारणको रुष्ट भएपछिको अभिव्यक्ति थियो यो ।

तर यो आरोप सबैमा लागु हुन्न । यसको प्रमाण गोरखा नगरपालिका ६ बाट निर्वाचित दलित महिला सदस्य मनिषा परियारलाई हेरे पुग्छ । उनी ठूलोआँगनको पश्चिम कवलमा ‘अनिष सुज सेण्टर’ सञ्चालन गरेर बस्छिन् । । जनप्रतिनिधि भएपनि आफ्नो जग छोड्नु हुन्न, श्रम र सीपको भरोशा छोड्नु हुन्न भन्ने आदर्शमा उनी उभिएकी छिन् । बिगत १५ बर्षदेखि अनबरत जुत्ता, चप्पल बनाएर उनले परिबार पाल्दै आएकी छिन् ।

उनले जुत्ता बनाउन थालेको २० बर्ष भयो । सानो उमेरमै यो पेशामा अव्वल भइसकेकी थिइन् उनी । जुत्ता सिलाउने क्रममै उनले अर्जुन सिर्मलसंग अन्तरजातीय विवाह गरेकी थिइन् । उनको विचारमा श्रम र सीप ठूलो हो । श्रमप्रतिको लगाव ठूलो हो अनि आत्मनिर्भर हुनसक्नु ठूलो हो भन्ने उनको आदर्श छ ।

उनले यो आदर्श बुहारीमा पुस्तान्तर गरिन् । उनको मर्म र भावनामा एकाकार भएर बुहारी अनुषाले पसलमा साथ दिन थालिन् । बुहारीले उनलाई काम सिकाइदिनु भन्छिन् । यसरी उनको श्रमप्रतिको सम्मान र आत्मनिर्भर हुनुपर्छ भन्ने भावना पुस्तान्तर भएको छ । अब उनको विचार परिबारभन्दा बाहिर अरुले पनि देखासिकी गर्नु आवश्यक छ, जसले परनिर्भरता हटाउँछ, आत्मनिर्भरता बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्