
फोहर व्यवस्थापनको विवाद चाँडै सुल्झियोस्
गोरखा नगरपालिकाको फोहर व्यवस्थापन गर्न क्लिन गोरखा नामक एक कम्पनीले जिम्मेवारी लिएर काम सुरु गरेको थियो । सरसफाइको काम नियमित हुन नसकिरहेको अबस्थामा क्लिन गोरखाको यो प्रयास निकै आशावादी र सह्रानीय थियो ।
कम्पनीले कार्यालय स्थापना गरी पर्याप्त कर्मचारी नियुक्त गरेर सरसफाइ कार्य आरम्भ गरेको थियो । कुचीकारहरुले नगरबासीको चहलपहल सुरु हुनुअघि नै बजार सरसफाइ गरिसक्ने गर्थे । बजार चिरिच्याट्ट हुन्थ्यो ।
त्यसबापट कम्पनीले घरवाला, डेरावाला, पसलवाला, कार्यालयवालाहरुसंग शुल्क उठाउँथ्यो । त्यसबाट २० प्रतिशत रकम नगरपालिकालाई कर तिरेर अरु कम्पनीले परिचालन गर्ने गथ्र्यो । नगरको सरसफाइमा नीजि कम्पनीले उदाहरणीय, सह्रानीय काम गरिरहेको थियो ।
तर एकाएक चैत लागेपछि सरसफाइ कार्य बन्द भयो । बजारमा यत्रतत्र फोहरको डंगुर देखापर्न थाल्यो । भित्रभित्रै क्लिन गोरखा समस्यामा परेको पाइयो । फोहर निश्कासन गर्ने घरवाला, डेरावाला, पसल वा कार्यालयहरुले नियमित रुपमा शुल्क नबुझाउँदा कम्पनी आर्थिक समस्यामा परेको पाइयो । सरसफाइ शुल्कले चल्ने सो कम्पनी शुल्क नउठ्दा न कामदारलाई पारिश्रमिक दिन सक्ने, न नगरपालिकालाई राजस्व तिर्न सक्ने अबस्थामा पुगे ।
सदस्यहरुबाट पचासौँ लाख रुपैयाँ उठ्न बाँकी र नगरपालिकालाई पनि त्यति नै राजस्व बुझाउन बाँकी रहेको पाइयो । साथै कामदार, कर्मचारीहरुलाई गत माघ महिनादेखिको तलब, पारिश्रमिक दिन बाँकी रहेको पाइयो । त्यसैले उनीहरुले चैत लागेदेखि काम बन्द गरेका रहेछन् । फोहरले नगर अस्तब्यस्त भएपछि जसोतसो कामदारलाई काम नरोक्न अनुरोध गरेर सरसफाइ गरिरहे पनि माथि उल्लेख भएको समस्या तत्काल समाधान हुने संकेत देखिएको छैन ।
तिर्नुपर्ने लाखौँ रुपैयाँ कर तिर्न नगरपालिकाको जोड छ, भने, सरसफाइ शुल्क तिर्न बाध्यकारी वातावरण बनाउन नगरपालिकाले पनि साथ दिनुपर्ने क्लिन गोरखाको माग छ । पहिले कर तिर्ने कि, पहिले शुल्क उठाउने वातावरण बनाउने भन्नेमा कुरो अड्केको छ । यहाँनेर समझदारी बन्यो भने शुल्क उठ्नेछ अनि कामदारले पाउने पारिश्रमिक पनि पाउनेछन्, अनि सरसफाइको काम पनि नियमित, व्यवस्थित हुनेछ । यो सहज वातावरण चाँडो बनोस्, नगर सरसफाइ हुने कुराको सुनिश्चितता होओस् ।




