
निशुल्क उपचार सेवाबारे अधिक प्रचार प्रसारको खाँचो
सरकारले धेरै कुरामा सर्वसाधारण नागरिकलाई राहत, अनुदान, सहुलित सेवाहरु प्रदान गरिरहेको हुन्छ । यसको जानकारी सीमितले मात्र पाउँछन् र उनीहरुले मात्र लाभ लिइरहन्छन् । सेवाग्राही असीमित हुन्छन्, तर सरकारले दिने हरेक सेवाको जानकारी हरेकमा हुदैन ।
लक्षितबर्गका नाममा राज्यको करोडौँ, अरबौँ लगानी भइरहेको हुन्छ, तर सर्वसाधारण लक्षितबर्गले भने अपेक्षित लाभ पाइरहेका हुदैनन् । दुई पक्षबीच तादात्म्य नमिलेका कारण यस्तो परिस्थिति आएको हो । दिने पक्ष र लिने पक्ष बीच सहज सूचना आदान प्रदान भएमा दिनेले पनि दिएजस्तो, लिनेले पनि पाएजस्तो हुन्छ, अन्यथा दिएलाई दिएजस्तो मात्र लाग्ने, तर लिनेलाई लिएजस्तो नलाग्ने अबस्था आउँछ ।
गोरखा नगरपालिकाले आफ्नो नगरपालिकाभित्र बसोबास गर्ने बासिन्दालाई गोरखा अस्पतालमा उपचार गरे निशुल्क उपचार सेवा दिन सुरु गरेको छ । निशुल्क स्वास्थ्य सेवा लिने सेवाग्राहीका लागि गोरखा अस्पतालले निशुल्क उपचार सेवा कार्ड बनाएर वितरण गरेको छ । नगरपालिकाको कार्ड देखाएमा टिकट पनि निशुल्क, सुगर प्रेसरको प्रयोगशाला परीक्षण पनि निशुल्क, अन्य परीक्षण पनि निशुल्क र औषधी पनि निशुल्क उपलव्ध हुने छ ।
नगरपालिकाले गरेका अन्य निर्णयहरु भन्दा यो निर्णयचाहिँ ज्यादै महत्वपूर्ण छ । यसले सबैजना नगरबासीहरु लाभान्वित भइरहेका छन् । यति प्रभावकारी निर्णय धेरैभन्दा धेरै नगरबासीमा छिटोभन्दा छिटो पु¥याउन जरुरी छ । जानकारीका अभावमा कैयौं नगरबासीले यस्ता खालका सेवा लिन ठूलो परिमाणमा खर्च गरिरहेका छन् ।
त्यसैले कतिपय अबस्थामा विज्ञापन अतिशयोक्ति जस्तो लाग्नसक्छ, तर सरकारले दिने राहत, अनुदान तथा सहुलियतका विषयमा जनमानसमा पु¥याउने सूचना, विज्ञापन भने धेरैभन्दा धेरै गर्नुपर्छ, जसले एक त सर्वसाधारण लाभान्वित हुनेछन्, अर्को कुरा त सरकारले जुन लक्ष्य राखेर निर्णय गरेको छ, लगानी गरिरहेको छ, त्यसको सही सदुपयोग हुनेछ ।




