
गोरखा अस्पतालको प्रशासनको नजर पुगेन कि ?
केही समय यता गोरखा अस्पतालमा सुत्केरी गराउन आएकाहरुलाई सिधै भरतपुर रिफर गर्ने गरेको अस्पताललाई आरोप लागेको छ । महत्वपूर्ण स्वास्थ्य सेवा दिएका कारण केही समययता लोकप्रियता कमाउँदै आएको अस्पतालले अहिले भने सेवामा हेलचेक्र्याइँ गरेको आरोप खेप्नु परेको छ ।
जिल्लामै उपलब्ध सेवाका लागि भरतपुर जानुपर्दा सुत्केरी र उनका आफन्तजनले समस्या खेप्नु परेको गुनासो गरेका छन् । नियमित गर्भजाँच गोरखा अस्पतालमै गरेका महिलाहरु सुत्केरी गराउन भने धेरै खर्च गरेर, जोखिम मलेर धेरै टाढा जानुपर्दा गुनासो गर्नु स्वभाविकै छ । चेकजाँच नै नगरी सिधै डाक्टर हुनुहुन्न भरतपुर लैजानुस भन्ने जवाफले सेवाग्राहीमा मर्कामा छन् ।
गत चैत्र ७ देखि अस्पतालले सुत्केरी गराउन गोरखा अस्पताल आएका गर्भवती महिलालाई विना चेकजाँच सिधै भरतपुर रेफर गर्ने गरेको हो ।
हाल गोरखा अस्पतालमा दुई जना गाइनोक्लोजिष्ट छन् । दुईमध्ये एकजना केही दिनदेखि तालिममा छन् । बाँकी एकजना दुईदिन बिदाका लागि शुक्रवार घर गएका छन् । विशेषज्ञको अभावमा अस्पतालले सामान्य अबस्थाका सुत्केरीलाई मात्र सेवा दिन्छ । शल्यक्रिया गर्नुपर्ने तथा अरु जटिलता आयो भने बाहिर रिफर गर्ने गर्छ । अस्पताल सञ्चालक समिति र अस्पताल प्रशासनले पनि यो अबस्था स्वीकार गर्छन् । तर जे भयो, सो गलत भयो भन्ने समितिको भनाइ छ ।
यसै गोरखा जस्तो दुर्गम पहाडी भेग भूभागले ओगटेको भूगोलमा बसोबास गर्ने महिलाहरु गोरखा बजारसम्म आइपुग्न पनि कठिन हुन्छ, झन् अस्पतालले भने बाहिरि जिल्ला धपाइदिँदा झन बढि समस्यामा पर्छन् । सरकारी, वा निजी कार्यालयका कर्मचारी वा डाक्टर जो कोहीले आवश्यकता हेरी विदा लिन पाउनु अधिकार हो । तर अबस्था, परिस्थिति हेरेर विदा लिनु वा दिनु वुद्धिमानी हो ।




