
पूर्व प्रधानमन्त्रीले देखाएको गाउँ फर्कने बाटो
उनका समकालीन नेतामध्य सादगी, सबैभन्दा धेरै पढेलेखेका, विद्वान, नयाँ विचार दिने नेता भनेर चिनिने पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उनको गृहग्राम पालुङटार १ बेलबासमा पुख्र्यौली घर सिँगारपटार गरिरहेका छन् । गत हप्ता झण्डै दुई हप्ता आफै बसेर पुख्र्यौली घर सजाउन खटिए । त्यहाँ उनले पुरानो घरलाई रेट्रोफिटिङ गरेका छन् भने आँगनमा सुरक्षाकर्मी तथा पाहुना सुत्नबस्न मिल्ने गरी कोठा निर्मार्ण गरेका छन् । भान्सा, सौचालय, घेराबार, मूलगेट आदि संरचना पनि निर्माण गरेका छन् ।
जोर्तीचौताराबाट कोलकाटे, चापाभञ्ज्याङ जोड्ने मुख्य सडकबाट आफ्नो घर जोड्ने शाखामार्ग निर्माण गरेका छन् । पुराना धन्सार भत्काएर त्यहाँ जग्गा सम्याएका छन् ।२०६४ सालमा जब उनी अर्थमन्त्री बने, उनले हरेक महिना नियमित रुपमा गोरखा आउने प्रतिवद्धता व्यक्त गरे । त्यसपछि २०६९ मा प्रधानमन्त्री बन्दा पनि हरेक महिना गोरखा आउने कामलाई निरन्तरता दिए । अहिले पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । त्यसलाई निरन्तरता दिन घर सुत्न, बस्नयोग्य बनाएको उनको प्रतिक्रिया छ ।
उनी गाउँ आएपछि उनका साथमा अरु नयाँ मान्छेहरु पनि गाउँमा आउने, नयाँ कुरा सिक्न पाउने, उनको आग्रहले गाउँमा बाटो, बत्ति, स्कूल, हेल्थपोस्ट लगायतका पूर्वाधार विकासले फड्को मार्ने, गाउँमा नयाँ चेतनाको लहर आउने गाउँलेको आशा अपेक्षा छ ।
उनले पनि विज्ञ, विशेषज्ञहरुको राय, परामर्शअनुसार गाउँमा उत्पादनलाई जोड दिने योजना बनाएका छन् । योजना गरेअनुसार काम भयो भने बेलबास मात्र नभै सिँगै खोप्लाङ, पालुङटार, गोरखा अनि नेपालकै विकासले नयाँ आयाम लिने थियो ।
अहिले नयाँ पुस्ताका सबका सबले विदेश ताकिरहेका बेला, अलिअलि कमाइ हुने वित्तिकै सबका सबले सहर ताकिरहेका बेला मुलुकका पूर्वप्रधानमन्त्री जस्ता ब्यक्ति गाउँ आउनुले सबैमा गाउँप्रतिको मोह बढाएको छ । अनि गाउँ फर्किने लहर पो चल्न थाल्छ कि भन्ने आशा, अपेक्षा गर्न सकिन्छ ।




