
चौथो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
बारपाक सुलिकोट गाउँपालिकामा भएको चौथो राष्टूपति रनिङशिल्ड प्रतियोगिताको उपाधि माझथर मावि स्वाँराले जितेको छ । बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोटमा भएको प्रतियोगिताको उपाधि माझथर मावि माविले जितेको हो ।
प्रतियोगितामा माझथर माविले ९ स्वर्ण, ५ रजत र २ कास्यसहित १६ पदक जितेको गाउँपालिका शिक्षा शाखा प्रमुख भिमकुमार श्रेष्ठले बताए ।
सो माविलाई नगद रु ४० हजारसहित शिल्ड र ट्रफीले सम्मान गरिएको उनले बताए ।
प्रतियोगितामा दोस्रो भएका हिमालय मावि बारपाकले ७ स्वर्ण, ५ रजत र ४ कास्य गरी १६ पदक जितेको छ । त्यस्तै, सूर्यज्योति मावि ताकुकोटले ७ स्वर्ण, ३ रजत ६ कास्य गरी १६ पदक सहित तेस्रो भएको उनले जानकारी दिए ।
सो प्रतियोगितामा दोस्रो र तेस्रो हुने टिमलाई क्रमश २६ हजार ६६६ र १३ हजार ३३३ नगद सहित ट्रफी प्रदान गरिएको उनले बताए । विजेता टिमलाई गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले पुरस्कार प्रदान गरेका थिए ।
सो प्रतियोगितामा पालिकाभित्रका १० वटा माविका करिब तीनसय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । सोमबारबाट बुधबारसम्म्म संचालन भएको प्रतियोगितामा विद्यार्थीहरुले १५ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले आगामि पुस ६, ७ र ८ गते जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् । त्यसैगरी जिल्लाबाट छनौट भएको खेलाडीहरु प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।




