
महालक्ष्मी माविका प्रअ काप्री शिक्षा दिवसका अवसरमा पुरस्कृत
सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा विगत ३२ बर्षदेखि शिक्षा सेवामा योगदान दिएका महालक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीबजार गोरखाका प्रधानाध्यापक चुडामणि काप्रीलाई पुरस्कृत गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार पुरस्कृत हुने काप्री लगायत शिक्षकहरूको नामावली प्रकाशन गरी जानकारी गराएको हो ।
काप्रीले बिगत १० बर्षदेखि महालक्ष्मी माविको प्रधानाध्यापक पद सम्हालेका थिए । शिक्षा क्षेत्रमा अनवरत सेवा गरी विद्यालयलाई उत्कृष्ठ बनाएबापत सरकारले उनलाई पुरस्कृत गरेको हो । उनले नेतृत्व सम्हालेको महालक्ष्मी माविले बिगत तीनबर्षदेखि गोरखा नगरपालिकामा उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ । त्यसबापत गोरखा नगरपालिकाले पनि तीनबर्षदेखि लगातार पुरस्कृत गर्दै आएको छ ।
त्यस्तै सोही अवसरमा सहिद लखन गाउँपालिका ५ स्थित सिद्धस्थानी माविकी बाल विकास सहजकर्ता मीना परियार पनि पुरस्कृत भएकी छिन् । त्यस्तै भीमसेन थापा गाउँपालिका बोर्लाङस्थित सरस्वती माविका विद्यालय कर्मचारी इलिमबहादुर गुरुङ पनि पुरस्कृत भएका छन् ।




