| शुक्रबार, अशोज २२, २०८३

३८ जना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि भीमसेन थापाका तीन विद्यालय बन्द

भीमसेनथापा गाउँपालिकाका तीन वटा माध्यमिक विद्यालय एकसाताका लागि बन्द गरिएको छ । विद्यार्थीहरुमा कोभिड पोजेटिभ देखिएपछि दुल्लभ मावि घ्याम्पेशाल, विन्द्रावती मावि र नवजागृति चण्डी मावि एकसाताका लागि बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए ।

‘स्थानीय स्वास्थ्य चौकीको समन्वयमा गाउँपालिकाको स्वास्थ्य शाखाले पाँचवटा विद्यालयका दुईसय ४३ जना विद्यार्थीमा कोभिड परीक्षण गर्दा ३८ जनामा पोजेटिभ देखियो’, उनले भने, ‘त्यसैले धेरै संक्रमित पुष्टि भएका तीन वटा विद्यालय एकसाताका लागि बन्द गर्ने निर्णय भएको हो ।’ उनका अनुसार दुल्लभ माविका १४ जनामा, विन्द्रावतीका सातजनामा र नवजागृतिका १० जना कोभिड पोजेटिभ देखिएको छ । तिनीहरुमध्य दुल्लभ मावि पाँच दिनका लागि र अरु दुई विद्यालय सात दिनका लागि बन्द गरिएको हो । कनकामना आधारभूत विद्यालयका दुई जनामा र चण्डेश्वरी आधारभूत विद्यालयका पाँचजनामा पनि कोभिड पोजेटिभ देखिएको छ । तर यी दुई विद्यालय भने वन्द नगरिएको उनले बताए ।

शंकास्पद लक्षण देखिएका विरामीको संख्या धेरै देखिएमा र त्यहाँबाट माग भएमा कोभिड पालिकाले परीक्षण गर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्