
रसियालाई जित्नैपर्ने दबाबमा इजिप्ट
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा आज रसिया र इजिप्टबीच प्रतिष्पर्धा हुँदैछ । रसिया र इजिप्टबीचको खेल सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।
नेपाली समयअनुसार आज राति ११ बजेर ४५ मिनेटमा दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ । ७ पटक विश्वकप खेलेको रसिया र दोस्रो पटक विश्वकप खेल्न लागेको इजिप्टबीच प्रतिस्पर्धा हुन लागेको हो ।
यसअघि रसिया र इजिप्टले एक—एक खेल खेलेका छन् । रसियाले साउदी अरबसँग आफ्नो उद्घाटन खेल खेलेको थियो । जसमा रसियाले साउदी अरबलाई ५—० गोल अन्तरले पराजित गरेको थियो भने इजिप्ट उरुग्वेसँग १—० गोल अन्तरले पराजित भएको थियो ।
रसिया र इजिप्टबीच पहिलो पटक भेट्दैछन् । रसिया र इजिप्ट दुवै टिम जितको खोजिमा हुनेछन् । यसअघि विजयी भएको रसिया समुह चरणको आफ्नो दोस्रो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्ने लक्ष्यमा छ । इजिप्टलाई आजको खेल जित्नै पर्ने दबाब छ । प्रिक्वाटरफाइनलमा पुग्ने सम्भावनालाई कायमै राख्न आजको खेल इजिप्टले जित्नैपर्ने दबाब छ ।
प्लेयर्स टु वाच
डेनिस चेरिशेभ, रसिया

रसिया र साउदी अरबबीचको उद्घाटन खेल उदाएका खेलाडी हुन् डेनिस चेरिशेभ । साउदी अरबविरुद्ध २ गोल गरेपछि चेरिशेभ चर्चामा छन् । चेरिशेभ सन् २०१२ देखि रसिया राष्ट्रिय टिममा आबद्ध भएका थिए । सन् २०१४ को विश्वकप छनौट खेलमा नेदरल्याण्डस्विरुद्ध मैदान प्रवेश गरेका चेरिशेभ ५ मिनेट मै चोटग्रस्त भएपछि मैदानबाट बाहिएका थिए ।
झण्डै दुई वर्ष मैदान बाहिर रहेका चेरिशेभ पुनः २०१८ मा रसिया र फ्रान्सबीचको मैत्रीपूर्णखेलबाट खेलमा फर्किएका हुन् । खेलमा चेरिशेभको प्रदर्शन राम्रो भएपछि उनलाई घरेलु भूमिमा हुन लागेको विश्वकपको प्रारम्भिक टोलिमा समावेश गरिएको थियो ।
२७ वर्षीय चेरिशेभले साउदी अरबसँगको खेलमा २ गोल गर्दै आफ्नो अन्तष्ट्रिय खेलमा पहिलो पटक गोल गरेका छन् ।
मोहमद सलाह, इजिप्ट

इजिप्टका फरवार्ड तथा भरपर्दा खेलाडी मोहमद सलाह उरुग्वेसँगको खेलमा मैदान बाहिर नै रहे । चोटग्रस्त बनेका सलाह विनै उत्रिएको इजिप्ट उरुग्वेसँग अन्तिम समयमा गोल खादै १–० गोलले पराजित भएको थियो ।
रसियालाई रोक्न मोहमद सलाह आजको खेलमा मैदानमा उत्रिनु नै पर्ने हुन्छ । गत जेठमा सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडका खेलाडी सर्जियो रामोसले लिभरपुलका फरवार्ड सलाहलाई घाइते बनाएका थिए ।
इजिप्टको सबैभन्दा भरपर्दा खेलाडी हुन् । सन् २०११ देखि राष्ट्रिय टिममा आवद्ध भएका सलाह इजिप्टका लागि विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । २५ वर्षीय सलाह इजिप्टको १० नम्बर जर्सी लगाउछन् । सलाहले अहिलेसम्म खेलेका ५६ खेलमा ३५ गोल गरेका छन् ।




