
२० वर्षपछि इंग्ल्याण्ड र ट्युनिसियाको विश्वकपमा भेट, कस्लाई कस्को डर ?
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा आज ट्युनिसिया र इंग्ल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । ट्युनिसिया र इंग्ल्याण्डबीचको खेल भोल्गार्डा एरिनामा हुनेछ ।
नेपाली समयअनुसार आज बेलुकी पौने १२ बजे दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ । ४ पटक विश्वकप खेलेको ट्युनिसियाले १ पटक विश्वकपको उपाधि उचालेको इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
इंग्ल्याण्ड रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद शुरुवात गर्ने तयारीमा छ भने ट्युनिसियाको इंग्ल्याण्डलाई रोक्ने रणनीति छ ।
अहिलेसम्म ट्युनिसिया र इंग्ल्याण्डको २ खेलमा भेट भएको छ । एक पटक विश्वकपमा र एक पटक मैत्रीपूर्ण खेलमा यी दुई टिमबीच प्रतिस्पर्धा भएको छ ।
पहिलो पटक सन् १९९० मा ट्युनिसिया र इंग्ल्याण्डबीच भएको मैत्रीपूर्ण खेलमा १—१ गोलको बराबरीमा खेल रोकिएको थियो ।
त्यसैगरी सन् १९९८ मा भएका विश्वकपमा इंग्ल्याण्डले ट्युनिसियाई २—ं० गोलले पराजित गरेको थियो ।
२० बर्षपछि पुन विश्वकपमा एकै समुहमा परेका ट्युनिसिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।
विश्वकपमा इंग्ल्याण्ड र ट्युनिसियाको यस्तो छ इतिहास
इंग्ल्याण्ड
विश्वकपमा उपस्थिति दमदार बनाउन नसकेको इंग्ल्याण्डले विश्वकपको उपाधि १ पटक मात्र उचालेको छ । त्यो पनि ५२ वर्षअघि, सन् १९६६ मा आफ्नै भूमिमा भएको विश्वकप ।
फाइनलमा जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको इंग्ल्याण्ड त्यसयता एक पटक मात्रै सेमिफाइनलमा पुगेको छ । सन् १९९० मा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेपनि इंग्ल्याण्ड उही जर्मनीसँग पराजित भएको थियो ।
इतिहासमा इंग्ल्याण्ड अहिलेसम्म १४ पटक विश्वकप खेलेको छ । सन् १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९८२, १९८६, १९९०, १९९८, २००२, २००६, २०१० र २०१४ मा गरी इंग्ल्याण्डले १४ पटक विश्वकप खेलेको छ । एक पटक विजेता बन्दा एक पटक चौथो र ५ पटक क्वारटफाइनलमा इंग्ल्याण्ड पुगेको छ ।
प्लेयर्स टु वाच

ह्यारी केन
युवा टोली इंग्ल्याण्डका कप्तान हुन् ह्यारी केन । केन यस सिजन इंग्लिस प्रिमियर लिगमा मोहम्मद सलाहपछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । टोटनह्यामबाट ब्यावसायिक फुटबल खेल्ने केनले यस सिजनको सबै खेलमा ४१ गोल गरेका छन् ।
सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यु गरेका केनको यो पहिलो विश्वकप हो । रुस विश्वकपमा केनबाट समर्थकको उत्कृष्ट प्रदर्शनको अपेक्षा छ भने उनलाई यसपाली गोल्डेन बुट जित्ने खेलाडीको रुपमा पनि हेरिएको छ । केनले अहिलेसम्म राष्ट्रिय टोलीबाट खेलेका २४ खेलमा १३ गोल गरेका छन् ।
मार्कस रासफोर्ड

२० वर्षीय रासफर्ड घरेलु लिगमा म्यान्चेस्टर युनाइटेडबाट खेल्छन् । सेन्टर फवार्ड पोजिसनमा खेल्ने उनी आफ्नो क्लबबाट खेलेका सबै डेब्यु खेलमा गोल गर्ने खेलाडी हुन् ।
इंग्ल्याण्ड रासफोर्डको राम्रो प्ररण लिनेछ । २०१६ को युरोकपमा राष्ट्रिय टोलीमा डेब्यु गरेका रासफोर्डले राष्ट्रिय टोलीका लागि १८ खेलमा २ गोल गरेका छन् ।
विश्वकपको लागि इंग्ल्याण्डको टिम
गोलकिपरः निक पोप, ज्याक बाटल्यान्ड, जोर्डन पिकफोर्ड
डिफेन्डरः जोन स्टोन, गरी काहिल, फिल जोन्स, ह्यारी मगुइरे, केल वाल्कर, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, एस्ले योङग, डानी रोज र किएरन ट्रिपर
मिडफिल्डरः इरिक डाएर, जोर्डन हेन्डरसन, डेले अलि, रुबेन लफ्टस चिक, जेसे लिन्गार्ड, रहीम स्टरलिङ र फाबियन डेल्फ
फरवार्डः ह्यारी केन, जेमी भार्डी, डानी वेलब्याक र मार्कस रासफोर्ड
ट्युनिसिया

ट्युनिसियाको यो विश्वकप पाचौँ पटक हो । यद्यपी सन् १९३० देखि १९५४ सम्म ट्युनिसियाले फ्रान्सको एक भाग भएर फुटबल खेल्दै आएको थियो ।
ट्युनिसियाले फ्रान्सबाट छुटिएपछि आफ्नै स्वामित्वमा विश्वकप खेल्न थालेको सन् १९७८ देखि हो । अर्जेन्टिनामा भएको विश्वकपमा डेब्यु गरेको ट्युनिसियाले समूह चरण भने पार गर्न सकेन । सन् १९९८ देखि २००६ सम्म लगातार तीन वटा विश्वकप खेले पनि ट्यनिसियाले समूह चरण पार गर्न सकेन ।
२०१० मा छनोट हुन नसकेको ट्युनिसिया रसिया विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने दाउँमा छ ।
प्लेयर्स टु वाच
वाहबी खाज्री

वाहबी खाज्री सन् २०१२ मा ट्युनिसियाका प्रशिक्षकले सिनियर टिममा बोलाएपछि राष्ट्रिय टिममा परेका थिए । तर, खेल खेल्न सन् २०१३ को अफ्रिका नेशन्स कपमा मात्रै पाएका थिए ।
विपक्षीको बलियो रक्षापंति छिचोल्दै गोल गर्न सक्ने क्षमतावान खेलाडीका रुपमा वाहबीलाई लिइन्छ । १० नम्बर जर्सीमा मैदानमा देखिने वाहबी राम्रा खेलाडी हुन् ।
२७ वर्षीय वाहबीले अहिलेसम्म खेलेका ३६ खेलमा १२ गोल गरेका छन् भने रसिया विश्वकपमा ट्युनिसियालाई समुह चरणबाट माथि उठाउन सक्ने खेलाडीका रुपमा लिइएका छन् ।
फेर्जानी सशी

फेर्जानी सशीले सन् २०१३ मा सेरा लियोनाविरुद्धको खेलबाट ट्युनिसियाली सिनियर टिमबाट आवद्ध भएका थिए ।
सशीले अहिलेसम्म खेलेका ४० खेलमा ३ गोल गरेका छन् । २६ वर्षीय सशीले जस्तोसुकै परिस्थितीमा पनि आफ्नो टिमका लागि गोल गर्नसक्ने खेलाडी हुन् । सशी १३ नम्बर जर्सीमा ट्युनिसियाका भरपर्दा मिडफिल्डर हुन् ।
विश्वकपको लागि ट्युनिसिया टिम
गोलरक्षकः फारौक बेन मुस्तफा, मोउज हसेन, ऐम्यान माथलौथी
डिफेन्डरः रामी बेडौइु, योहान बेनाल्युने, स्याम बेन युसुफ, डायलन ब्रोन, ओयुस्सामा हदादी, एली मालौयुल, यासिने मारेया, हाम्दी नगुइज
मिडफिल्डरः वाह्बी खज्री, एनिस बड्री, मोहमद बेन अमोर, फर्जानी सासी, एलिएस स्खिरी
फरवार्डः सौफे इदिन खओयुई, फर्खे्दिने बेन युसुफ, सबेर खलिफा, बेस्सेम सरार्फी, नेइम सेलेती, अहमद खलिल, घायलेन चालेली




