
आजपनि गोरेको बयान बाँकी, बुबाले भने– कानुनी कारबाही हुनुपर्छ
साढे ३३ किलो सुन प्रकरण र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान लिइएको छ । जिल्ला अदालतमा मोरङमा उनको बयान लिइएको हो । उनीसँग बुधबार र बिहीबार दुईदिन लिइएको बयान पनि नसकिएको अदालतले जनाएको छ ।
बुबा नेत्रप्रसाद उप्रेतीले बन्द इजलाशको ‘ब्रेक टाइम’ मा छोरा गोरेलाई भेटेपछि नेत्रप्रसाद उप्रेतीले भने, “पटक–पटक मैले छोरोलाई के गर्छस् भनेर सोध्दा कहिल्यै बताएन, सबै राम्रो काम हो भन्थ्यो । एक वर्षअघि सनम र गोरेलाई मैले घरमा आएको बेला लौरोले पनि कुटेको थिएँ, तिमीहरुले के काम गरिरहेका छौ रु मैले नराम्रो सुनिरहेको छु भनेर ।”
उनले अहिलेको घटनाले आफूलाई असह्य पीडा भएको बताउँदै भने, “‘जे सोचेको थिइन, त्यही भयो । मन थामेर बसेको छु, मुटु दह्रो पारेको छु ।”
नेत्रप्रसादले आफूले दुई महिनापछि छोरालाई भेट्न लागेको बताए । गोरे प्रायः बुबाको मुख हेर्ने दिन मात्र आफूलाई भेट्न आउने गरेको र अन्य बेला कम आउने गरेको उनले बताए । छोराले गलत गरेको भए कानुनअनुसार कारबाही गर्नुपर्ने बुबाको धारणा थियो ।
उनले सुनकाण्डमै पक्राउ परेका पूर्व डिआइजी गोविन्द निरौला र आफू सँगै पढेको साथी भएको पनि बताए । मोरङ अदालतमा बुधबारदेखि गोरेको बयान चलिरहेको छ । गोरेलाई साढे ३३ किलो सुन र अन्य तस्करीसँगै सनम हत्याको मुख्य अभियुक्त बनाइएको छ ।




