
बागलुङमा ३० सैनिकमा काेराेना पुष्टि
३० जना सैनिकसहित बागलुङमा एकैदिन ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणबाट बागलुङस्थित नेपाली सेनाको २३ नम्बर बाहिनीमा कार्यरत ३० जना सैनिकमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २९ पुरुष र एक महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका दुई पुरुष, उच्च अदालत बागलुङ इजलासका २ कर्मचारी र १ जना थुनुवामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । चार दिनअघि सेनाका २८ जनामा एकैपटक कोरोना संक्रमण देखिएको थियो । तित्याङस्थित तामाखानीमा काम गर्ने मजदुरमा कोरोना देखिएपछि सुरक्षार्थ गएका सैनिकको स्वाब परीक्षण गरिएको थियो । उनीहरुमा संक्रमण देखिएपछि सेनाको ब्यारेकमा परीक्षण थालिएको थियो । अहिलेसम्म सैनिक ब्यारेकमा मात्रै ६० बढीमा संक्रमण देखिएको हो ।
प्रहरीमा यसअघि एक निरीक्षकलाई कोरोना संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य दुई जनामा कोरोना पुष्टि भएको हो । प्रहरीका संक्रमित भने अस्पतालको आइसोलेसन जानेछन् । बागलुङ नगरपालिकाकै एक जनप्रतिनिधि र अर्का एक होटल व्यवसायीमा पनि संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म जिल्लामा ५ सय २५ जनामा कोरोना संक्रमण भइसकेको छ । तीमध्ये ३ सय ६७ जना निको भएका छन् ।




