| आइतवार, कार्तिक २२, २०८३

स्याङ्जामा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

स्याङ्जामा स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

शुक्रबार दिउँसो साढे ३ बजे भिरकोट नगरपालिका-१ दार्सिङमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो। 

वालिङबाट हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर एजुकेसन एकेडेमी स्कुलको ग. १ क. ४३७० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

ठक्करबाट मोटरसाइकलमा सवार वडा ३ बानेथोक देउराली घर भई कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुव भन्ने गुप्त बहादुर खत्री र वालिङ नगरपालिका-१ राम्बाच्छा बस्ने ५५ वर्षीय ढाल बहादुर राना घाइते भएका थिए। 

घाइते भएका उनीहरूको उपचारका लागि कालिका सामुदायिक अस्पताल हेलुमा लगिएको थियो। उनीहरूको उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।  

दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया दिनुहोस्