| आइतवार, कार्तिक २२, २०८३

गुप्ता मिष्ठान्न भण्डारको मिठाईको गुणस्तर जाँच गरिने

दरौंदी ः गोरखा नगरपालिका ६ पुरानो बसपार्कको गुप्ता मिष्ठान्न भण्डारमा बनेका मिठाईको गुणस्तर जाँच गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले उक्त पसलमा बनेका मिठाईको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा पठाएको हो ।
मिठाईमा अखाद्यवस्तु मिसावट गरेको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालयले मंगलबार उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा आबश्यक कागजात बिना नै पसल सञ्चालनमा रहेको पाइएको छ । प्यान नम्बर र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ताबिना नै पसल सञ्चालनमा रहेको पाइएको जिल्ला प्रशासन कार्यालयका खरिदार रविलाल सुवेदीले जानकारी दिए ।
पसल सञ्चालकलाई आबश्यक कागजात जुटाउन प्रशासनले १५ दिनको समय दिएको छ । प्रयोगशालाबाट मिठाईको गुणस्तरबारे रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्ने खरिदार सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघ र गोरखा चेम्बर अफ कमर्सका प्रतिनिधि अनुगमनमा सहभागी थिए । सामाजिक सञ्जालमा सो पसलको मिठाईको गुणस्तरका सन्दर्भमा गुनासो बढेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्